चुनावको नयाँ चाला, क्युआर कोडमार्फत पैसा जाला

पहिचानको त्यो आगोले मत पनि पाए पो !

चुनावको नयाँ चाला, क्युआर कोडमार्फत पैसा जाला
सुन्नुहोस्

– विश्वमणि सुवेदी 

पहिचानको त्यो आगो, सल्किँदासल्किँदै मत्थर भएको छ । यद्यपि, निभेको छैन । त्यसैले हालै सम्पन्न उपनिर्वाचनको सन्देशलाई सही ढंगले ग्रहण गर्नुपर्ने ठाउँमा देशका जिम्मेवार राजनीतिक दल, तिनका नेता र कार्यकर्ता पुगेका छन् ।

मानौं, इलाममा ११ हजार चार सय ५७ मतका साथ आफ्नो बलियो उपस्थिति देखाउने पहिचानवादीका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमले १२–१३ हजार मत थपेका र निकटतम प्रतिद्वन्द्वीमात्रै हुन पाएका थिए भने स्थिति के हुन्थ्यो ? जसरी पहिलो संविधानसभाकालमा देशमा पहिचान पक्षधरका लागि देश–विदेशबाट अनेकन स्रोत, प्रोत्साहन, कार्यक्रम र उत्साह भरिएको थियो, यसचोटि इलाम– २ मा सम्पन्न उपनिर्वाचनमा त्यही शैलीमा पहिचान पक्षधरले चौतर्फी साथ सहयोग पाए । यद्यपि, यथेष्ठ जनमत आर्जन गर्न सकेनन् । यदि, प्राप्त मतमा केही हजारको उपलब्धि हुन्थ्यो भने पहिचानपक्षीय आन्दोलनले अर्को रुप लिन्थ्यो ।

कोशी प्रदेशमा त उक्त पक्षधरले अलग्गै दल निर्माण गर्नेसम्मको पहल गरिसक्थे । त्यो लहर देशका विभिन्न भागमा फैलिन्थ्यो । यस स्थितिमा मुलुक कि समृद्धितिर जान्थ्यो, कि त विश्वका थुप्रै मुलुकमा झैं जातको आगो सल्किएर मुलुक धराशायी हुन्थ्यो, गृहयुद्ध झेल्थ्यो । यद्यपि, जति मत आएको छ, त्यसलाई केही पनि होइन भन्ने गल्ती मूलधारको राजनीतिक नेतृत्वले गर्दै गयो भने खतरा विद्यमान नै रहने राजनीतिक विश्लेषकहरुको ठहर छ ।

इलाममा उक्त पक्षसँग सत्तारुढ जसपाको संस्थागत समर्थनसहित सबै पार्टीका एकथरि कार्यकर्ताको प्रत्यक्ष–परोक्ष साथ थियो । नागरिक उन्मुक्ति, केबी पालुङवा, गोपाल किराँती, युग पाठक, खगेन्द्र संग्रौला, स्वागत नेपाल, दुर्गा प्रसाईंहरुसम्म त्यसमा सामेल थिए । सुरक्षा निकायले गरेको प्रक्षेपणअनुसार, चुलाचुली, माङ्सेबुङ र फाकफोकथुममा पहिचान पक्षीय उम्मेदवार थेगिमले बढी मत ल्याउने अवस्था थियो । तर, त्यहीँबाट अपेक्षित मत नल्याएरमात्रै हो, नत्र थेगिम नै मुख्य प्रतिद्वन्द्वी हुनेवाला थिए । कांग्रेसको मतलाई रास्वपाले राम्रैसँग काट्यो । देउमाईमा एमालेको त्यसै राम्रो थियो । इलाम नगरपालिकामा पनि रास्वपाले कांग्रेसको मत काट्दा एमालेलाई फाइदा भयो । पहिचान पक्षीयले बढी मत ल्याउने भनिएको तीन गाउँपालिकामा २२ सय मतको फरक पर्‍यो ।

प्रश्नको अर्को कोण पनि छ कि, ३१ वर्षीय सुहाङ नेम्वाङको उम्मेदवारीप्रति पार्टीभित्रै असन्तुष्टि हुँदा पनि उनले कसरी फराकिलो अन्तरका साथ जित निकाले ? दिवंगत सुवास नेम्वाङप्रतिको रुचि वा उनको लोकप्रियतासँगै मतदातामा युवाको चाहना प्रष्ट झल्कियो । त्यसमाथि कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काको छवि राम्रो थिएन । ठेकेदारका रुपमा उनले जिम्मा पाएका अनेकन परियोजना अलपत्र पार्नेदेखि बोलि, व्यवहार पनि जनतासँग मिल्नेखालको नहुँदा कांग्रेस मारमा परेको छ । रास्वपाको उम्मेदवार हुनुअघि मिलन लिम्बू पत्रकारमात्रै थिए, त्यसमाथि चर्को जातिवादी । इलाममा रवि लामिछानेसहित रास्वपाले काठमाडौँबाट उतार्न बाँकी नेता, सांसद र मन्त्री कोही थिएनन् । तर, जमानत पनि नजोगिने गरी परिणाम आयो ।  

पहिचानवादी उम्मेदवार डिकेन्द्रको पक्षमा धरानका मेयर हर्क साम्पाङहरुले क्युआर कोड र इ–सेवाबाट गाउँगाउँमा सहयोग बाँडे । चुलाचुली, माङसेबुङमा पहिचानवादीले जसरी पैसा बाँडे, त्यसरी नै शहरी भेगमा कांग्रेस र एमालेले बाँडे । पहिचानवादीले त सहयोगका लागि क्युआर कोड नै सार्वजनिक गरेका थिए । विभिन्न जातीय समुदायले देश–विदेशबाट पैसा पठाए । युरोपेली युनियनसम्बद्ध कतिपय दातृ संस्था पनि यही मौकामा सल्बलाए । अहिलेमात्रै हैन, कोशी प्रदेशको नामकरणपछि चर्किएको आन्दोलन बाहिरबाट आएको पैसासँगै सकियो । त्यसपछि सरकारसँग वार्ता गर्न कमिटी बन्यो । यद्यपि, इलाममा उक्त पक्षले हासिल गरेको मत संस्थागत हुनसक्यो र भविष्यमा त्यस्तो जनमतले हौसला पाउने अवस्था बन्यो भने मुलुकका निम्ति त्यो भारी बन्न सक्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू