पाँच महारानी, जीवनभरको हैरानी

पाँच महारानी, जीवनभरको हैरानी

भारतमा इष्ट इण्डिया कम्पनीले शासन गर्न शुरु गरेको सन् १७५७ मा हो । खासमा बेलायतको यो कम्पनी एउटा यस्तो व्यापारिक इकाइ हो, जसको शेयर किनबेच गर्ने छुट सबै शेयरहोल्डरलाई हुन्छ अर्थात् यो एउटा संयुक्त स्टक कम्पनी हो । अंग्रेजहरूले हिन्दमहासागरसम्म आफ्नो ब्यापार विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनी । शुरुमा यसले नुन, चिनी, सिल्क र सुती कपडा, मसला, अफिम, नील रंगजस्ता सामानको व्यापार थाल्यो तर पछि व्यापार गर्ने निहुँमै भारतीय प्रायद्वीप, दक्षिणपूर्वी र पूर्वीएसियाको हङकङसम्मलाई आफ्नो नियन्त्रणमा पार्‍यो । व्यापारिक संस्था भए पनि यसको आफ्नै सेना थियो त्यो पनि बेलायतको सेनाभन्दा ठूलो संख्यामा अर्थात् २ लाख ६० हजार सैनिक । उक्त कम्पनीले भारतमा लगभग सय वर्ष शासन गर्‍यो र पछि सन् १८५८ मा शासन गर्ने अधिकार ब्रिटिश साम्राज्यलाई सुम्पियो । ब्रिटिश सरकारले पुनः अर्को ९० वर्ष शासन गर्‍यो । बेलायतले भारतमाथि प्रत्यक्ष शासन गर्न थालेको १६ वर्षपछि सन् १८७४ मा उक्त कम्पनीलाई विघटन गरियो ।

हैदरावाद भारतको नियन्त्रणमा जानुअघिसम्म (सन् १९४८) यसको क्षेत्रफल २ लाख २३ हजार वर्गकिमिमा फैलिएको थियो अर्थात् नेपाल (१ लाख ४७ हजार ५ सय १६ वर्गकिमि) भन्दा पनि ठूलो । डेढ करोड जनसंख्या । र, त्यहाँ निजामको शासन थियो । निजामको अर्थ उर्दू भाषामा क्षेत्रीय प्रशासक हो । त्यहाँको अन्तिम निजाम थिए उस्मान अली खान । सन् १९६७ मा निधन भएका उनको सम्पत्ति थियो – २ सय ३६ अर्ब डलर । जबकि भारतको सबैभन्दा धनी भनिएका मुकेश अम्बानीको सम्पत्ति अहिले पनि ४५ अर्ब डलरभन्दा बढी छैन । विश्वप्रसिद्ध पत्रिका ‘टाइम’ ले निजाम उस्मानबारे २२ फेब्रुअरी २०३७ को अंकमा कभरस्टोरी छाप्दै लेखेको थियो, ‘संसारकै धनी व्यक्ति ।’ सन् १९६२ मा भारत र चीनबीच युद्ध भयो । युद्धले भारतको अर्थतन्त्रलाई जर्जर तुल्यायो ।

प्रधानमन्त्री लालबहादुर शास्त्रीले सन् १९६५ मा मुलुकका ठुल्ठूला उद्योगपति र धनीमानी वर्गबाट सहयोगको अपेक्षा राखे । तब उनै निजाम उस्मानले सरकारको सुरक्षा कोषमा ५ हजार किलो सुन जम्मा गरिदिए । निजामहरू नवाबसाबजस्तै थिए । मोजमस्ती गर्थे । उनले २ सय ८० क्यारेटको हीराको डल्लोलाई टेबुलमा कागज च्याप्ने पेपरवेटको रूपमा प्रयोग गर्थे जसको मूल्य २० करोड डलर (आजको मूल्य नेरु साढे २६ अर्ब) थियो । उनले आफ्नो ८१ वर्ष लामो जीवनमा कति जनासित बिहे गरे र कति सन्तानका पिता भए कुनै गन्ती थिएन । जे होस् मृत्युको समयमा उनीसित दर्जनौं पत्नी थिए भने ८६ जना छोराछोरी थिए ।

मृत्युको समयसम्म पनि २ सय ३६ अर्ब डलर सम्पत्ति भएका उनी कन्जुसमा महाकन्जुस थिए । आफ्नो लागि खर्चै गर्दैनथे । न लुगा किन्थे न अरु पहिरन । यहाँसम्म कि एउटै टोपी लगातार ३५ वर्ष लगाए । निजामसित नजिकको सम्बन्ध भएका वाल्टर मांकटनको जीवनी लेखेका लेखक फ्रेडरिख बर्केन्हेड लेख्छन् ‘निजाम उस्मानको कद होचो थियो, त्यसमाथि निहुरेर हिँड्थे । उनको काँध पनि सानै थियो र खैरो रंगको लौरो टेकेर हिँड्थे । उनको ३५ वर्ष पुरानो टोपीमा धूलो जमेको, सिलाइको धागो टुटिसकेको हुन्थ्यो । उनी आफ्नो लुगा आइरन गर्नसम्म दिँदैनथे । उनले लगाउने गरेको शेरवानी मैलो र मुनि लगाइराखेको सेतो पाइजामा खुकुलो भइसकेको हुन्थ्यो ।

खुट्टामा पहेँलो मोजा हुन्थ्यो त्यसको इलास्टिक पनि गइसकेको हुन्थ्यो । उनको ग्यारेजमा एक से एक महँगा गाडी हुन्थे तर सन् १९१८ मोडलको एउटा खतरा कार चढेर हिँड्थे । फ्रेन्च लेखक डोमिनिक लापियर र अमेरिकी लेखक लारी कोलिन्सको अनुसार उनीसँग सुनका थाल र अन्य भाँडाकँुडा यति धेरै थियो कि एकै समय २ सय जनालाई खाना ख्वाउन पुग्थ्यो तर उनी सुकुलमा बसेर टिनको थालमा खाना खान्थे । कन्जुस त यतिबिघ्न थिए कि किनेर सल्काउनुपर्दाको समयमा सबैभन्दा सस्तो चुरोट किनेर पिउँथे नत्र पाहुनाले निभाइसकेको चुरोटको ठुटोबाटै तलतल मेट्थे । उनको शयनकक्ष झुपडीको जस्तो फोहोर र दुर्गन्धित हुन्थ्यो । बल्ल जन्मदिन पारेर वर्षमा एकदिन सफाइ गर्न दिन्थे । तर, फोहोर र दुर्गन्धित उनको त्यो कोठाभित्र अकुत सम्पत्ति लुकाइएको हुन्थ्यो । भित्रको गोप्य कक्षमा हीरा जवाहरात कोइलाका टुक्रासरी भुइँमा छरपस्ट छरिएको हुन्थ्यो ।

गोदाममा ट्रक हुन्थे जुन सुनको बिस्कुटले भरिएका हुन्थे । उनीसँग त्यो बेलामै १५ करोड भारु नगद थियो जसलाई उनले पुरानो अखबारको कागजले पोको पारेर राखेका थिए । र, प्रत्येक वर्ष लाखौँ बराबरको नोट मुसोले खाइसक्थ्यो । उनी अलि बढी नै शंकालु थिए । सधैँ खानेकुरामा विष हालेर मार्लान् र भएभरको सम्पत्ति लुटेर भाग्छन् भन्ने डर लिइबस्थे, त्यसैले जहिले पनि एक दर्जन सहयोगी लिएर हिँड्थे, जहाँ गए पनि पहिला खानेकुरा उनका सहयोगीले चाखिसकेपछि मात्र खान्थे । खाने कुरा पनि फेरीफेरी खान्नथे । सधैँ क्रिमयुक्त खानेकुरा, मिठाइ, फलफूल, सुपारी खान्थे र राति एक प्याला अफिम पिउँथे । निजामको एउटा अनौठो सोख थियो । फोटोग्राफी र अश्लील चित्र संकलन । आफ्नो यो सोख पूरा गर्न उनले पाहुनाघरको भित्ता र छतमा जासुसी क्यामेरा फिट गरेका हुन्थे । पाहुनाघरको शौचालयको ऐना पछाडि पनि क्यामेरा लुकाएर राखेका हुन्थे र पाहुनाको प्रत्येक गतिविधिको फोटो खिचेर राख्थे । भनिन्छ, भारतका ठुल्ठूला हस्तीको शौच गर्दै गरेको फोटो उनीसित थिए । अर्को, आफ्ना समकालीन नेताहरूको फोटोमा केरमेट गर्नमा माहिर थिए । यस्तो गतिविधिमा उनी रमाउने गर्थे ।

बेलायतबाट भारत स्वतन्त्र भइसक्दा पनि ३ वटा रियासत भारतमा गाभिन मानेका थिएनन् । तीमध्येका एक हैदरावाद थियो । भारत स्वतन्त्र पक्कापक्की भइसकेपछि निजामले हतारहतारमा बेलायतको वेष्टमिनिष्टर बैंकमा १० लाख पौण्ड नगद जम्मा गर्न लगाएका थिए । सकेसम्म स्वतन्त्र रहने नभए पाकिस्तानको अंग बनाउने सोच राखेका थिए निजामले । यसमा भर्खर बनेको मुलुक पाकिस्तानको पनि रुचि थियो । पाकिस्तानका प्रथम प्रधानमन्त्री लियाकत अलि खान त हैदरावादको सहयोगार्थ सेना पठाउने तयारीमा लागिसकेका थिए । तर, निजाम र लियाकत दुबैको सपना पूरा भएन । भारतले सन् १९४८ को सेप्टेम्बरमा हैदराबाद कब्जा गर्न सेना पठायो ।

पाकिस्तानी सेनाको सहयोग नपाएको हैदराबादको सेना भारतीय सेनासँग जुध्न सकेनन् र आत्मसमर्पण गर्न विवश बने । धेरैपछि लण्डनका एक जना पत्रकारले वेष्टमिनिष्टर बैंकमा जम्मा गरिएको निजामको सम्पत्तिबारे रिपोर्टिङ गरेका थिए । उनका अनुसार सन् २०१९ मा उक्त रकम ३ सय करोड भारु पुगेको थियो । यसबारे त्यहाँबाट निस्कने गार्जियन पत्रिकाले लामै समाचार प्रकाशन गरेको थियो । गर्जियनका अर्का पत्रकार विलियम डेलरिम्पलका अनुसार निजामको मुख्य दरबारमा १४ हजार ७ सय १८ जना कर्मचारी काम गर्थे । चौमोहल्लास्थित अर्को दरबारमा ६ हजार नोकर थिए । ३ हजार त अरेबियन बडिगार्ड थिए । नोकरमध्ये २८ जना पानी बोक्न, ३८ जना झुमर बत्ती सफा गर्न र १२ जना निजामले खाने गरेको ओखर फुटाल्नलाई मात्र राखिएको थियो । निजामका कूल ४२ पत्नी थिए । 

निजामले सन् १९४७ मा बेलायतका महारानी एलिजाबेथलाई बिहेको अवसरमा हीरा, एउटा तायरा र एउटा नेक्लेस उपहार दिएका थिए । एलिजाबेथले निजामले दिएको उक्त गहना औपचारिक कार्यक्रममा सधैँ लगाउने गरेकी थिइन् । निजाम उस्मान सत्ताच्युत भएपछि पनि आफ्नै दरबार ‘राजा कोठी दरबार’मा बस्ने गरे । उनले सन् १९६७ मा सोही दरबारमा प्राण त्यागे । उनको निधनमा भारतीय सरकारले शोक मनाउने निर्णय गरेको थियो । सन् १९११ मा निजाम बनेका उनी हैदरावादको सातौँ निजाम थिए । सन् १९४८ मा सत्ताच्युत भए पनि निजामले मानका लागि मान पद पाइरहेका थिए । साथै, राज्यबाट वार्षिक २८ लाख भारु भत्ता पनि ।

निजाम उस्मानको मृत्युपछि उनैका छोरा आजम साहको ठाउँमा आजमका जेठो छोरो मुकरम साह आठौं निजाम घोषित भए । उनको जन्म फ्रान्सको दरबारमा भएको थियो । उनका आमा दुररु सेहवर सुल्तान त्यो समयको सबैभन्दा सुन्दर महिला कहलिन्थिइन् । टर्कीको अन्तिम खलिफा (शासक)की पुत्री थिइन् । मुकरमको जीवन शानदार ढंगले चल्दै थियो । अचानक इन्दिरा गान्धीको सरकारले भत्ता रोकिदियो । दरबारभित्रका सबैले सम्पत्तिमा हिस्सा खोजे । यी सबै झन्झटबाट दिक्क मानेर पहिला अस्ट्रेलिया र पछि आफ्नो मामाघर टर्कीतर्फ लागे । ५ पत्नी थिए तर सबै दाम्पत्य जीवन असफल । जीवनको अन्तिम समयमा ऋणमा डुबे । इस्ताम्बुलको सानो कोठामा ८९ वर्षको उमेरमा निधन भयो ।
 

टिप्पणीहरू