बुस्टर डोज नछुटाउन स्वास्थ्य मन्त्रालयको सूचना

बुस्टर डोज नछुटाउन स्वास्थ्य मन्त्रालयको सूचना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । 

मन्त्रालयले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा भएका र बुस्टर डोज छुटेकालाई खोप लगाउन भनेको हो । कोरोनाको जोखिम अझैपनि यथावत रहेकाले बुस्टर डोज लगाउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ । 

त्यस्तै, यसअघि पहिलो बुस्टर डोज लगाएको ६ महिना पूरा भएका लक्षित समूहलाई दोस्रो डोज दिइने पनि मन्त्रालयले जानकारी दिएको छ । ५५ वर्ष उमेर माथिका सबै व्यक्तिहरु, स्वास्थ्यकर्मी, गर्भवती, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन मन्त्रालय सूचना गरेको छ । 

बुस्टर खोप लगाउन जाँदा पूर्ण मात्रा खोप लगाएको कार्ड लिएर जानुपर्ने मन्त्रालयले बताएको छ । कोरोना संक्रमण भएकाहरुले संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज लगाउन मिल्ने मन्त्रालयको भनाइ छ ।
 

टिप्पणीहरू