भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलाबखत चर्चामा आइरहन्छन् । उनी समय,काल र परिस्थिति हेरेर बोल्न तथा भेटघाट गर्न अभ्यस्त छन् । पछिल्लो पटक उनले भारत भ्रमणमा आएका अष्ट्रेलियन प्रधानमन्त्रीलाई क्रिकेट कूटनीति भन्दै विशेष ढंगले बनाइएको सवारी साधनमा राखेर क्रिकेट रंगशाला घुमाएका हुन् ।
आफ्नै नाम रहेको गुजरातको राजधानी अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा बसेर गत बिहीबार दुबै जना प्रधानमन्त्रीले दुई देशबीच भएको टेष्ट म्याच हेरेका थिए । सँगसँगै प्रधानमन्त्री मोदीले गरेको ट्वीटमा क्रिकेट भारत र अष्ट्रेलियाका जनताको ‘जोश’ भएको उल्लेख छ ।
अष्ट्रेलियन प्रधानमन्त्री एन्थोनी अल्बानिज ७५ वर्षको मैत्रीपूर्ण सम्बन्ध मनाउन भारत आएको बताइएको छ । प्रधानमन्त्री मोदी र अल्बानिज क्रिकेट मैदानमा गल्फ कार्ट भनिने सवारी साधनमा घुमिरहँदा फाल्गुनी साहले सुमधुर गीत गाएकी थिइन् । साह ग्रामी अवार्डप्राप्त भारतीय गायिका हुन् ।
यसअघि चीनका राष्ट्रपति सि जिनपिङको भारत भ्रमण पनि मोदीले आफ्नो गृहराज्य गुजरातको विमानस्थलबाट शुरु गराएका थिए । हिन्दू कूटनीतिको निम्ति उनले बनारसमा समेत विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।