पिएनजीमाथि नेपालको रवाफिलो जित, विश्वकप छनोटमा पुग्न एक पाइला पछाडि

पिएनजीमाथि नेपालको रवाफिलो जित, विश्वकप छनोटमा पुग्न एक पाइला पछाडि

आईसीसी विश्वकप लिग-२ को अन्तिम शृंखला अन्तर्गत सोमबार भएको खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)माथि शानदार जित निकालेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले २५४ बल बाँकी छँदै पुग्रा गरेर कीर्तिमानी जित हात पारेको हो । नेपालले एक विकेटको क्षतिमा ७.४ ओभरमै लक्ष्य प्राप्त गर्यो  ।

 नेपालका लागि ओपनर आसिफ शेखले २१ बलमा ८ चौका र ३ छक्काको मद्दतले ५३ रनको अर्धशतकीय पारी खेल्दै नटआउट रहे । अर्का ओपनर कुशल भुर्तेलले १४ बलमा ३३ रङ बनाए । कुशल आउट भएपछि क्रिजमा आएका अर्का कुशल (मल्ल) ले १३ बलमा १२ रन जोड्दै नटआउट रहे ।

 यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले ३२ ओभरको समाप्तिमा अलआउट हुँदै ९५ रन मात्र जोड्न सफल भएको थियो । पीएनजीलाई सस्तैमा समेट्न नेपाली स्पिनरहरुले घातक बलिङ गरेका थिए ।  

नेपालका लागि सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । त्यस्तै, ललित राजवंशी र कुशल मल्लले दुई-दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए ।

आजको जितसँगै सात टोलि सम्मिलित लिग-२ को टप ३ मा परेर सोझै विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना थप बलियो बनेको छ । प्रत्येक टोलीले ३६ खेल खेलिसकेपछि शीर्ष स्थानका टिन टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् । नेपाल एक खेल खेल्न बाँकी रहंदा ३८ अंकसहित तालिकाको चौंथो स्थानमा छ । 

नेपाल भन्दामाथि स्कटल्याण्ड, ओमान र नामिविया रहेका छन् । कूल ३६ खेलबाट ५० अंकसहित शीर्ष स्थानमा रहेको स्कटल्याण्ड र ४४ अंक बटुलेर दोस्रो स्थानको ओमान विश्वकप छनोटमा पुगिसकेका छन् । नामिवियाको ३९ अंक छ । नेपालले आफ्नो अन्तिम खेलमा यूएईलाई पराजित गरे नामिवियालाई उछिनेर तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुग्नेछ ।

टिप्पणीहरू