क्रोएसिया पठाइदिने प्रलोभनमा १५ लाख ठगी

क्रोएसिया पठाइदिने प्रलोभनमा १५ लाख ठगी

वैदेशिक रोजगारीअन्तर्गत क्रोएसिया पठाइदिने भन्दै ठगी गरेका एक जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभन देखाउँदै ठगी गर्दै आएका मेघलाल तामाङ्गलाई प्रहरीले पक्रेको हो ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो काठमाडौंको मीनभवनबाट उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।  ललितपुरको गोदावरी बस्दै आएका उनले क्रोएसियाको प्रतिष्ठित फर्निसिङ र माछापालन कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएर ठगेका थिए ।

क्रोएसिया जान सात लाख लाग्ने र मासिक एक लाखभन्दा धेरै तलब हुने भन्दै तीन जनाबाट पटक पटक गरी १५ लाख रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएका हुन् । आफूहरु ठगिएको थाहा पाएपछि पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारे । विभागको पत्रपछि प्रहरीले खोजतलास अघि बढाएको हो । 

सोही क्रममा हिजो पक्राउ परेका उनलाई थप अनुसन्धानको निम्ति विभाग पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू