नक्कली बेलायती नागरिक बनेकी ललितपुरकी महिलाद्वारा लाखौं ठगी

नक्कली बेलायती नागरिक बनेकी ललितपुरकी महिलाद्वारा लाखौं ठगी

सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिले ठगीका नयाँ जुक्ति निकाल्न थालेका छन् । ललितपुर महानगरपालिका १ की अञ्जली बिसुन्के त्यस्तै जुक्ति निकालेर ठगी गर्दै हिँड्ने क्रममा पक्राउ परेकी छन् । 

उनले टिकटकमार्फत आफूलाई बेलायती नागरिक फ्रयाङ्कलीन पाउन (पुरुष) को नाममा परिचय गराउँदै विवाहको प्रलोभन देखाएपछि युवतीहरुबाट लाखौँ रकम ठगेको रहस्य खुलेको हो । ३६ वर्षीया अञ्जलीले विभिन्न व्यक्तिसँग आफ्नी श्रीमतीको मृत्यु भइसकेकाले नेपाल आएर विवाह गर्ने प्रलोभन देखाएकी थिइन् ।

उनले ‘इङ्ल्याण्डको नागरिक हुँ, मेरो श्रीमतीको मृत्यु भइसकेको छ, म नेपाल आएर तिमीलाई विवाह गरी इङ्ल्याण्ड लैजान्छु’ जस्ता विभिन्न प्रलोभन देखाएको पीडितहरुले बताएका छन् । उनले पीडितहरुलाई ७० हजार डलरसहितको लगेज लण्डनबाट पठाएको भन्दै १५ लाख २० हजार रुपैयाँ बराबरको ठगी गरेको पाइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उनले विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पीडितलाई पटक पटक आफूले भनेको रकम पठाउन लगाएको पाइएको छ । यसरी रकम लिएर उनी सम्पर्कविहीन भएपछि पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई आज ललितपुरको महालक्ष्मीस्थानबाट नियन्त्रणमा लिएको हो । थप अनुसन्धान र कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

टिप्पणीहरू