राजधानीबाट मूर्ति चोरेको चोर्यै,प्रहरी हेरेको हेर्यै

राजधानीबाट मूर्ति चोरेको चोर्यै,प्रहरी हेरेको हेर्यै

राजधानी काठमाडौं उपत्यकाबाटै मूर्ति चोरीका घटना नियमित सुनिन थालेका छन् । हिजो राति ललितपुरको गोदावरी नगरपालिका ११,चापागाउँस्थित एउटा चैत्यबाट दुई वटा बुद्धमूर्ति चोरी भएको छ । १० दिनअघि मूर्ति चोरिएको चैत्यबाटै थप दुई वटा हराएको बताइन्छ । 

‘अवस्था भयावह भयो, यसतर्फ कसैले चासो लिएको पाइएन,’ स्थानीयले आक्रोश पोख्दै भनेका छन्, ‘हिजो राति भगवानका दुई वटा मूर्ति चोरिएको छ ।’ चोरिएका मूर्ति नेपाल सम्बत ८२५ ताकाका हुन् । 

स्थानीय चैत्यबाट १० दिनअघि पनि एउटा मूर्ति चोरी भएको थियो । हिजो राति बाँकी दुई वटा मूर्ति पनि चोरी भएपछि स्थानीय आक्रोशित भएका छन् । प्रहरी प्रशासन,स्थानीय निकाय सबै मौन बसेको उनीहरुको आरोप छ । 

‘प्रहरीले चोर पक्रन सक्दैन,स्थानीय निकायले चासो दिँदैन । तर विदेशबाट फर्काइएका मूर्ति नेपाल ल्याइएको समाचार दिनहुँ सुनिन्छ । यताबाट लैजान दिने,उताबाट ल्याइएको समाचार फुक्नुको के अर्थ ?,’ नाम नबताउने शर्तमा चापागाउँका एक जना स्थानीयले बताए । 

नियमित रुपमा राजधानीबाटै मूर्ति हराउन थालेपछि गृह मन्त्रालय,संस्कृति मन्त्रालय र पुरातत्व विभागको भूमिका, दायित्व र क्षमताप्रति प्रश्नचिन्ह उठेको छ । ती निकायले सम्पदा संरक्षणमा खासै चासो नदिएको आरोप लाग्न थालेको छ । 

यसअघि हराएको मूर्तिबारे अर्का एक जना स्थानीयले भने,

‘३५७ केजी तौलको मूर्ति फिर्ता भएको छ । १० जनाले बोक्न नसक्ने मूर्ति चोरी कसरी हुन्छ ?’

टिप्पणीहरू