नारायणी पुलको मुखमा राति अचानक लडखडाएको जीप

नारायणी पुलको मुखमा राति अचानक लडखडाएको जीप

बेलाबेलामा आत्मदाहको लागि मान्छेहरु हामफाल्न आउने हिसाबले असुरक्षित मानिँदै आएको नारायणी पुलबाट खस्न लागेको यौटा जीप अचम्मसँग जोगिएको छ । तीन जना सवार जीप सडकबाट २०-२५ मीटर तल खसेर पनि पाङ्ग्रा ढुंगामा अडिएपछि सम्भावित ठूलो दुर्घटना टरेको हो । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु२च १५७० नम्बरको जीप आज राति साँढे २ बजेतिर गैंडाकोट–नारायणगढ जोड्ने पुलको मुखमा आइपुग्दा अचानक अनियन्त्रित भई तल नदीतिर मोडिएको थियो । अस्थायी ट्राफिक प्रहरी पोष्ट गैंडाकोटका अनुसार बुटवलका २९ वर्षीय पवन भुसालले गाडी चलाएका थिए । उनीहरु कसैलाई केही नभएको प्रहरी सहायक हवल्दार राजकुमार पौडेलले बताए । 

सडकबाट करिब २०-२५ मिटर तल खसिसकेको गाडीको पाङ्ग्रा धन्न पुलको छेउमा लगाएको बाँधको ढुंगामा अड्केर नदीमा पस्नबाट जोगिएको हो । यसबाट कुनै मानवीय क्षति नभएको बताउँदै मापसेको कारणले यो सवारी दुर्घटना भएको देखिएको इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक रिता पौडेलले जानकारी दिइन् ।

टिप्पणीहरू