घटना यौन दुव्र्यवहार, कुटपिटमा मिलापत्र

घटना यौन दुव्र्यवहार, कुटपिटमा मिलापत्र

आफ्नै विद्यार्थीमाथि दुव्र्यवहार गर्ने शिक्षकलाई जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावक र शिक्षकहरूले माफी दिएका छन् । विद्यार्थीले पटक–पटक दुव्र्यवहार गरेको भन्दै अभिभावक र कार्यालयमा उजुर गरे पनि दबाबमा मिलापत्र भएको छ । 

काभ्रेको बेथान्चोक गाउँपालिका–४ का वडा सदस्य कर्ण तामाङको निर्देशन र योजनामा विद्यालयमा भएको दुव्र्यवहारलाई मिलापत्र गराइएको हो । उनकै उपस्थितिमा विद्यालय व्यवस्थापन समिति, अभिभावक र विद्यार्थीलाई समेत राखेर शिक्षकलाई माफी मगाउँदै आइन्दा त्यस्तो नगर्ने कागजमा सहीछाप गराइएको छ । पटक पटक दुव्र्यवहार भएको आरोप लागेपछि शिक्षक शम्भुलाल श्रेष्ठले केही महिनाअघि मात्रै प्रधानाध्यापक पदबाट राजीनामा दिएका थिए । कर्णको नाताले आफन्त पर्ने छात्रालाई शिक्षकले गरेको दुव्र्यवहार नियतवश नभएकाले माफी दिन दबाब दिइएको थियो । छात्राका आफन्तले अघिल्लो दिन नै प्रहरी चौकी खोपासीमा जानकारी गराएका थिए । प्रहरीले जाहेरी लिएर आउन भनेको थियो ।

प्रहरी कार्यालयमा जाहेरी लिएर आउनुअगावै छात्रालाई धम्की दिँदै अबआइन्दा कसैलाई नभन्न र उजुरी नगर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण तामाङसहितले दबाब दिएको बताइन्छ । बेथान्चोक गाउँपालिका–४ स्थित भूमिमाता माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रामाथि भएको यौन दुव्र्यवहार घटनालाई हातपात भएको बन्दै शिक्षकले माफी मागेका छन् । कागजमा भनिएको छ, ‘आज मिति २०७९ फागुन ५ गते श्री भूमिमाता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा वडा प्रतिनिधि कर्ण तामाङको रोहवरमा पूर्वप्रधानाध्यापक शम्भुलाल श्रेष्ठले कक्षा ८ मा अध्ययनरत छात्रामाथि नियतवश फेरि नकारात्मक कार्य गरेमा शिक्षा नियमावली, ऐन बमोजिम कारबाहीको भागी हुनेछु भनी यो लिखितम पत्रमा हस्ताक्षर गरेँ ।’ 

कर्ण, शिक्षक श्रेष्ठ र विद्यार्थीका अभिभावक एउटै पार्टीमा आबद्ध छन् । अभिभावक र विद्यार्थीले कुनै पनि हालतमा शिक्षकलाई कानुनी कारवाही गर्नुपर्ने माग गरेको भए पनि दबाबमा कागज गराएर मिलापत्र गराइएको हो । प्रहरीले घटनाबारे चासो दिए पनि पीडितको जाहेरी नआएको भन्दै अनुसन्धान गरेको छैन । 

– मोतीराम तिमल्सिना

टिप्पणीहरू