१० करोड कमाएको ‘छक्का पञ्जा–४’ विरुद्ध उजुरी

१० करोड कमाएको ‘छक्का पञ्जा–४’ विरुद्ध उजुरी

हालै रिलिज भएको फिल्म ‘छक्का पञ्जा–४’ को एउटा संवादप्रति राष्ट्रिय सहकारी महासंघले आपत्ति जनाएको छ । फिल्ममा सहकारीसम्बन्धी लाञ्छनायुक्त संवाद राखिएको र त्यसलाई हटाउनुपर्ने माग राख्दै महासंघले चलचित्र विकास बोर्ड गुहारेको छ । 

आमा सरस्वती मुभिज प्रालिद्वारा निर्मित चलचित्रको उक्त संवादले सहकारी क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठाउने महासंघको ठम्याई छ । बोर्डलाई पत्र लेख्दै महासंघले सहकारी क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उब्जिने कपोलकल्पित, भ्रामक र तथ्यहीन संवाद तत्काल हटाउन माग गरेको हो । 

पत्रमा भनिएको छ, ‘सहकारी क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उब्जिने उक्त कपोकल्पित, भ्रामक, तथ्यहीन संवादको घोर भत्र्सना गर्दै भ्रम सिर्जना हुने उक्त संवाद तत्काल हटाई चलचित्र क्षेत्रको गरिमा कायम राख्नका लागि हार्दिक अनुरोध गर्दछौं ।’

चलचित्रमा सहकारीझैं श्रीमती पनि भाग्ने संवाद राखिएको छ । जसप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । गत फागुन १९ गतेदेखि प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । फिल्मले हालसम्म १० करोडभन्दा बढी कमाइ गरेको बताइएको छ ।

टिप्पणीहरू