नातिको रिसमा हजुरबाको हत्या

नातिको रिसमा हजुरबाको हत्या

रुकुमपश्चिमका एक बृद्धकोे हत्या अभियोगमा छ जना पक्राउ परेका छन् । मुसीकोट नगरपालिका –८ घोरखानी बस्ने ७४ वर्षीय जितबहादुर बुढाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २० वर्षीय अनिल पुन, दुई जना १७ वर्षीय किशोर, दुई जना १६ वर्षीय किशोर र एक जना १४ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए । उनका अनुसार शनिबार राति आठ बजे नातिसँगको रिसइबीको कारण घरमा आएकाहरूले हजुरबुवा जितबहादुर बुढालाई आक्रमण गरेका थिए ।

नातिसँगको रिसले हजुरबुवालाई कुटपिट गर्दा गम्भीर घाइते रहेका बुढालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको र राती नै मृत घोषणा गरिएको डिएसपी भट्टराईले बताए । घटनालगत्तै प्राप्त सूचनाको आधारमा घटनास्थल पुगेको प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू