तुलसी सहकारीमा १२ करोड बढी अपचलन, बचतकर्तालाई उजुरी दिन प्रहरीको आह्वान

तुलसी सहकारीमा १२ करोड बढी अपचलन, बचतकर्तालाई उजुरी दिन प्रहरीको आह्वान

जिल्ला प्रहरी कार्यालय, मोरङ्गले विराटनगरमा सञ्चालित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा रकम जम्मा गरेका बचतकर्तालाई उजुरी दिन आह्वान गरेको छ । 

मुलुकभर कार्यक्षेत्र रहेको उक्त संस्था २०५२ चैत १३ गते सहकारी विभागमा दर्ता भएको हो । संस्थाले हजारौं बचतकर्तालाई ठगेको खबर बाहिरिएपछि प्रहरीले पीडितहरुलाई उजुरी दिन सूचित गरेको छ ।

विराटनगर महानगरपालिका २ मा केन्द्रीय कार्यालय रहेको संस्थाको मुलुकभर २१ हजार ७१३ सदस्य छन् । तीमध्ये विराटनगरमा मात्रै चार हजार बढी छन् ।

गत फागुन १ गतेदेखि उक्त संस्था पूर्व सूचना र जानकारी नदिई बन्द गरिएको छ । सञ्चालक समितिका सबै पदाधिकारी सम्पर्कविहीन बनेपछि केही बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । १२१ पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले तीन जना सञ्चालक र पदाधिकारीलाइ पक्रेको छ ।

संस्थाका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । बाँकी अरुको पनि धमाधम खोजी भइरहेको प्रहरीले बताएको छ । उनीहरुले पीडितबाट १२ करोड ९ लाख चार हजार ४८७ रुपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुलेको छ । 

संस्थाले बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचतलगायत विभिन्न खातामा रकम जम्मा गर्दा १५ प्रतिशतभन्दा बढी ब्याज र बानेस दिने प्रलोभन देखाएको पाइएको छ । प्रहरीकाअनुसार आकर्षक सुविधाको प्रलोभनमा परेर बचतकर्ताले ठूलो रकम बचत गरेको देखिन्छ । अहिले त्यो रकम डुबेको अवस्थामा पुगेको छ ।

टिप्पणीहरू