बेलायतद्वारा दुई नेपालीको लाइसेन्स खारेज

बेलायतद्वारा दुई नेपालीको लाइसेन्स खारेज

बेलायतले ब्रेक्जिटपछि पोइन्ट बेस्ड अध्यागमन प्रणाली बनाउँदा अहिले वर्क परमिट र विद्यार्थी भिसा खुकुलो बनेको छ । विश्वभरबाट आउने आप्रवासी संख्या भने अकासिएको छ । त्यसो त न्यून अंग्रेजी क्षमता भएका र ऋण जोरजाम गरेर भएपनि नेपालीसमेत धमाधम बेलायत ओइरिएका छन् काम गर्ने र पढ्ने बहानामा । यो हुलमा नेपालीलाई ठग्नेको पनि कमी छैन । विद्यार्थी र कामदारलाई कि शैक्षिक कन्सल्टेन्सीले ठगेका छन् कि रिक्रुट एजेन्सीले । 

धेरैमध्ये दुई नेपाली भने बेलायतको कारबाहीमा परेका छन् । नेपाली कामदारलाई काम खोजिदिएबापत पैसा लिएको आरोपमा एक नेपाली रिक्रुटमेन्ट एजेन्सीको लाइसेन्स खारेज गरिएको छ । बेलायतमा कामदार ल्याउन लाइसेन्स जारी गर्ने निकाय ग्याङमास्टर एण्ड लेबर अब्युज अथोरिटीले सोमबार एक विज्ञप्ति जारी गर्दै अडेप्ट एण्ड अजाइल पिएलसीको लाइसेन्स तत्काल खारेज गरिएको बताएको छ । यसअघि डिसेम्बर महिनामा सो एजेन्सीलाई अथोरिटीले १८ महिनाका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो र सो निर्णयलाई डनकास्टर म्याजिष्ट्रेट कोर्टले अनुमति दिएको थियो ।

अथोरिटीका अनुसार नेपाली कम्पनी अडेप्ट र अजाइलका निर्देशकद्वय रेशम गुरुङ र प्रविन रिमाल अथोरिटीले तय गरेको मापदण्ड पूरा गर्न असमर्थ भएकाले लाइसेन्स खोसिएको हो । लाइसेन्स खोसिएपछि सो कम्पनीले अथोरिटीले नियमन गर्ने क्षेत्रमा कामदार पठाउन पाउने छैन । जसमा बेलायतको कृषि क्षेत्र, वागवानी, समुद्रमा माछा मार्ने, प्याकेजिङ र प्रोसेसिङ क्षेत्र पर्छन् । ६५ वर्षीय गुरुङ पूर्व गोरखा सैनिक हुन् र उनको स्थायी ठेगाना बेलायतमै रहेको छ भने ५६ वर्षीय रिमाल नेपालमा बसोबास गर्ने बताइएको छ ।

अथोरिटीका अनुसन्धान अधिकृतहरूले सो एजेन्सीबाट बेलायत आएका १०० जनाभन्दा बढी कामदारसित बयान लिँदा काम खोजिदिए बापत १२ देखि १३ हजार पाउण्डसम्म उठाएको तथ्य बाहिर आएको थियो । उनीहरूले सो पैसा सीधै गुरुङ वा उनको आफन्त वा एजेन्सीका कर्मचारीलाई बुझाएको बताएका थिए । बेलायतमा काम खोजिदिएबापत शुल्क लिनु गैरकानुनी मानिन्छ ।

गुरुङ र रिमालले कामदारलाई शुल्क तिरेको बारेमा कसैलाई नभन्न, भनेमा कामबाट हटाइने र नेपाल फिर्ता पठाइने डर देखाएको पाइएको पनि अथोरिटीले जनाएको छ । लाइसेन्स खारेज गर्ने निर्णयका विरुद्ध रिमाल र गुरुङले पुनरावेदन दिएनन् । 

अथोरिटीका नियमन प्रमुख निकोला रेले नेपालबाट ल्याइएका कामदारमाथि शोषण गरिएको र काम खोजिदिएबापत चर्को शुल्क लिइएको पाइएको बताइन् ।

 

टिप्पणीहरू