बाग्मतीमा माओवादी कर्मचारीको नयाँ नेतृत्व, प्रशासन मन्त्रीको कडा भाषण

बाग्मतीमा माओवादी कर्मचारीको नयाँ नेतृत्व, प्रशासन मन्त्रीको कडा भाषण

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बाग्मती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन् । आज सम्पन्न दोश्रो अधिवेशनले पूर्वाधार विकाश कार्यालय, काभ्रेका लेखा अधिकृत ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

२१ सदस्यीय कार्यसमितिका उपाध्यक्षहरुमा राजु अर्याल, कुण्डल बिक्रम बुढाथोकी,जयराम कार्की र सुस्मिता सापकोटा रहेका छन् । त्यसैगरी सचिवमा सिताराम फुयाल, सहसचिवमा छितेन भोटे, कोषाध्यक्षमा सन्तोष ढकाल र सह कोषाध्यक्षमा सरिता ओली निर्वाचित भएको कार्यसमिति सदस्य इश्वर केसीले बताए । 

त्यसअघि भएको बन्द सत्रमा बाग्मती प्रदेशका १३ जिल्लाबाट आएका ६७ जना प्रतिनिधि सहभागी थिए । सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको बताउदै नवनिर्वाचित अध्यक्ष श्रवण ढुंगानाले अधिवेशनको म्यान्डेटअनुसार पेशागत हकहित र ट्रेड युनियन अधिकारको पक्षको लागिरहने प्रतिवद्धता जनाए ।

अधिवेशनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा सम्बोधन गर्दै मन्त्री मोदीले ब्युरोक्रेसीमा कायम रहेको वर्गविभेद आफूले अन्त्य गर्ने दाबी गर्दै पियन र ड्राइभर जस्ता श्रेणी बिहिन कर्मचारीहरुले दिनरात सेवा गरेपनि उचित मूल्यांकन हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

मन्त्री मोदीले आफू सामन्तवाद बिरुद्ध लडेर आएको भन्दै कर्मचारीतन्त्रको सामन्तवाद आफूलाई स्वीकार्य नभएको बताए । जगेडा र फाजिलमा राखेर कर्मचारीलाई काम नदिई बरण्डामै दिन बिताउन बाध्य पार्ने प्रबृत्तिबिरुद्ध आफू उभिएको उनको भनाइ छ ।

कर्मचारीतन्त्रमा केही सीमित कर्मचारीको हालीमुहाली रहेको खुलासा गर्दै मन्त्री मोदीले तीनै कर्मचारीले बहुसंख्यक कर्मचारीमाथि अन्याय गरिरहेको पनि बताएका छन् । आफ्नो कार्यकालमा सरुवा बढुवाको बैज्ञानिक प्रणाली बनाइने र सबैमाथि न्याय गरिने उनको दावी छ ।

टिप्पणीहरू