ज्ञवालीले छोडेपछि अवसर प्राप्त पन्तलाई बम्पर
नेकपा एमालेको एघारौँ महाधिवेशनमा स्वतन्त्र उम्मदेवारी दिई पछि संस्थापनको प्यानलमा परेका रघुजी पन्तले उपाध्यक्ष जितेका छन् । उम्मेदवारी मनोनयनको अन्तिम क्षणसम्म चर्चामा नरहेका उनको पक्षमा अनपेक्षित परिणाम आएको हो ।
दुवै प्यानलमा नपरेपछि पन्तले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । तर, प्रदीप ज्ञवालीले उपाध्यक्ष उठ्न नमानेपछि अन्तिम घडीमा ओलीले आफ्नो समूहमा राखेका थिए । ५ जना उपाध्यक्षका लागि भएको निर्वाचनमा पन्त अन्तिम स्थानमा रहँदै विजयी भए । उनले १२ सय ५८ मत पाएका छन् ।
उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल,रामबहादुर थापा र गोकर्णराज विष्ट निर्वाचित भएका छन् । विष्टबाहेक बाँकी सबै ओली प्यानलका हुन् ।
अन्तिम परिणामअनुसार उपाध्यक्षतर्फ गुरुङले सबैभन्दा धेरै १७ सय ३७ मत पाए । १६ सय ७५ मतसहित पौडेल दोस्रो स्थानमा रहँदा थापाले १५ सय १६ भोट पाए । ईश्वर पोखरेल प्यानलका विष्टले १३ सय ६८ मत ल्याएका छन् ।
पन्त एमालेभित्र बौद्धिक र तर्कपूर्ण बहस गर्नसक्ने नेताका रुपमा चिनिन्छन् । ०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका उनी माधव नेपालको पालामा राजनीतिक सल्लाहकार थिए ।
२०७८ सालमा माधव नेपालले पार्टी विभाजन गर्दा १० बुँदे गरेर एमालेमै बसेका पन्त पछिल्लो समय भने ओलीसँग निकट थिए । उनी ओलीको पछिल्लो मन्त्रिपरिषदमा शिक्षामन्त्री समेत रहे । तर,शुरुमा ओलीको उम्मेदवार सूचीमा भने परेनन् ।
महासचिवको दावी गरिरहेका ज्ञवालीले उपाध्यक्ष नउठ्ने घोषणासहित महाधिवेशनस्थलबाट रुँदै बाहिरिएपछि स्वतन्त्र उम्मेदवारी दिएका पन्तलाई ओलीले समेटेका थिए । संस्थापन प्यानलमा १० भाइ समूहबाट एक्लो उम्मेदवार बनेका उनले उपाध्यक्षमा बाजी मारेका हुन् ।
टिप्पणीहरू