मिसावटको तेल बेचेर मोटरसाइकल ध्वस्त पार्ने पेट्रोल पम्पमाथि कारवाही

मिसावटको तेल बेचेर मोटरसाइकल ध्वस्त पार्ने पेट्रोल पम्पमाथि कारवाही

पेट्रोलमा डिजेल मिसाएर बेच्ने आयल स्टोरलाई जिल्ला प्रशासन कार्यालय, स्याङ्जाले कारबाही गरेको छ । 

सदरमुकाम पुतलीबजारमा रहेको नेपाल पेट्रोल्यूब सप्लायर्स प्रालिले मिसावटयुक्त इन्धन बेचेको प्रमाणित भएपछि जरिवानाको कारवाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीले बताइन् । 

पेट्रोल्यूबका सञ्चालक कृष्णप्रसाद शर्मा, जनकराज शर्मा, भगवती शर्मा र सम्झना शर्मालाई जनही एक लाख ८० हजारको दरले जरिवाना गरेको उनले जानकारी दिइन् । त्यस्तै, कर्मचारी सुवास क्षेत्री एक लाख रुपैयाँ जरिवानामा परेका छन् । 

उक्त पम्पबाट पेट्रोल हाल्दा मोटरसाइकल स्टार्ट नहुनेलगायतका समस्या देखिएको भन्दै प्रशासनमा उजुरी परेको थियो । त्यसपछि नेपाल आयल निगम प्रादेशिक कार्यालय, पोखराको टोलीले पेट्रोलको नमूना संकलन गरी परीक्षणका लागि पठाएको थियो । 

ल्याब परीक्षणमा पेट्रोल गुणस्तरहीन भएको पुष्टि भएपछि उनीहरुलाई कारबाही गरिएको प्रशासनले जनाएको छ । प्रशासनले एक हजार ९१८ लिटर पेट्रोलसमेत नष्ट गरेको छ ।

टिप्पणीहरू