प्रचण्डसँग माधव नेपालको प्रस्ताव : नेकपा ‘रिभाइभ’ गरौं

प्रचण्डसँग माधव नेपालको प्रस्ताव : नेकपा ‘रिभाइभ’ गरौं

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव अघि सार्नुभएको छ । 

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमक्ष आफूले नेकपा ब्युँताउने प्रस्ताव गरेको उहाँले आज खुलासा गर्नुभएको हो । आज बिहान भएको भेटमा आफूले प्रचण्डलाई नेकपा रिभाइभ गर्न प्रस्ताव गरेको उहाँको भनाई छ । 

तत्कालीन नेकपाको नामसम्बन्धी विवादमा सर्वाेच्च अदालतले ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरिदिएको थियो । त्यसपछि एमाले र माओवादी केन्द्र पुनः अलग अस्तित्वमा फर्किएका थिए । 

आन्तरिक विवादले एमाले पुनः विभाजन हुँदा नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएको थियो । त्यसयता तत्कालीन नेकपा तीन धारमा विभाजित छ । 

पार्टी निकट भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा अध्यक्ष नेपालले आफ्ना सामू राष्ट्रपति हुने सम्भावना हुँदा पनि आफूले धोकाको राजनीति नगरेको पनि उल्लेख गर्नुभयो । काँग्रेस र माओवादीलाई धोका दिएर आफू राष्ट्रपति बन्न नचाहेको दाबी गर्दै उहाँले भन्नुभयो,’ ‘हामीले चाहेको भए कोर्स चेञ्ज गरेर राष्ट्रपति बन्नसक्थ्यौं । तर, के हुन्थ्यो थाहा छैन । एकीकृत समाजवादी र माधव नेपाल धोकेबाज होइन । काँग्रेस र माओवादीलाई पनि धोका दियो भन्ने हुन्थ्यो ।’ 

त्यतिबेला एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको प्रस्ताव गर्दा नेपालले नेकपा ब्युँताउने शर्त राखेको चर्चा थियो । तर, ओलीले स्वीकार नगर्दा छलफल अघि नबढेको नेताहरुले बताएका छन् ।

टिप्पणीहरू