गुप्तचरभित्रै मीटरब्याज

गुप्तचरभित्रै मीटरब्याज

लघुवित्त सहकारी संस्थाहरूले मीटरब्याजी भएर सर्वसाधारणलाई धुरुक्कै पारेको विरोधमा देशैभर आन्दोलन चलिरहँदा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत दुई जना मीटरब्याजी गुप्तचरहरू भने धन्दा चम्काउनै व्यस्त छन् ।

यसरी मीटरब्याजी साहुका रूपमा विभागभित्रै पहिचान बनाउने विभागको मेकानिकल शाखा कार्यरत हवल्दार शंकर .......र पोखरामा कार्यरत हवल्दार............. हुन् । दुईमध्ये एकले विभागभित्रकै आफ्ना साथीभाइलाई मागेअनुसार मीटर ब्याजमा लगानी गर्छन् । सयकडा ३ प्रतिशत अर्थात् वर्षको ३६ प्रतिशत ब्याज लिने शर्तमा ऋण दिन्छन् । र, तलब भुक्तानी हुनेबित्तिकै ब्याज काट्छन् । उनले ब्याज लिने तरिका भने सहज छ ।

ऋण लिने बेलैमा ऋणी साथीको तलब जाने खाताको एटिएम र पिनकोड कब्जामा लिन्छन् । नभए ऋण प्रवाह गर्दैनन् । तलब खातामा पोस्टिङ हुनेबित्तिकै ब्याज निकाल्छन् । कहिलेकाहीँ भने पूरै तलब पनि कब्जा जमाउने गर्छन् । उनले करिब ३५ लाख हाराहारीमा विभागभित्रै लगानी गरेको चर्चा छ । यिनले मीटरब्याजकै भरमा काठमाडौँ कलंकीमा घर बनाएका छन् । ऋणी गुप्तचरहरू भने ब्याज तिर्न कठिन र साँवा चुक्ता गर्न नसक्ने भएपछि थाप्लोमा हात राख्न थालेका छन् ।

पोखरामा रहेका गुप्तचरका हवल्दारले ५ लाखजति लगानी गरेका छन् । उनले ऋणीसँग एटिम र पिनकोड भने लिएका छैनन् । विभागभित्रै एक गुप्तचरबाट अर्को गुप्तचर चर्को ब्याजमा ऋण खान बाध्य भइरहँदा गुप्तचर विभागको विभागीय प्रमुख र प्रशासन प्रमुख थाहा नपाएजस्तो गरी बसेको गुनासो छ । बरु हाकिमले तल्ला तहका गुप्तचरलाई मीटरब्याजी साहु र सहकारी र वित्तीय संस्थाहरूको अनुसन्धान गरी रिपोर्ट पठाउन पत्राचार गर्छन् ।

यस्तो रिपोर्टमा विभागकै यी दुई हवल्दार गुप्तचरको भने नाम आजसम्म नपरेको सुनिन्छ । सरकारले गुप्तचरलाई लघुवित्त संस्थाबाट पीडितको नाम नामेसी संकलन र छानबिन गर्ने जिम्मेवारी पनि दिएको छ ।

– पीडितहरू
 

टिप्पणीहरू