बेइजिङमा अध्ययनरत नेपाली इञ्जिनियर पक्राउ,कारण ‘शंकास्पद’

बेइजिङमा अध्ययनरत नेपाली इञ्जिनियर पक्राउ,कारण ‘शंकास्पद’

चीनको राजधानी बेइजिङमा छात्रवृत्तिमा अध्ययनरत एक जना नेपाली इञ्जिनियर पक्राउ परेका छन् । सर्लाहीको बरहथवा नगरपालिका ५ का शिवशंकर सिंहलाई चीनको नेसनल सेक्युरिटी गार्डले नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइएको छ ।

२५ वर्षे सिंह गत माघ २६ गते पक्राउ परेका हुन् । पाँच वर्षअघि नेपालमा १० जोड दुई कक्षा उतीर्ण गरेपछि उनी उच्च अध्ययनको निम्ति चीन गएका थिए । सन् २०१८ देखि उनले चीन सरकारको छात्रवृत्तिमा सिचुआन प्रान्तको छन्तुमा सिभिल इञ्जिनियरिङ अध्ययन गरेको बुझिएको छ ।

छन्तुको अध्ययनपछि उनी चीनको महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्ययोजनाअन्तर्गतको बेल्ट एण्ड रोड इनिसिएटिभ छात्रवृत्तिमा त्यहाँबाट राजधानी बेइजिङ गएका हुन् । सन् २०२१ देखि उनले बेइजिङको पेइहाङ विश्वविद्यालयको स्कुल अफ ट्रान्सपोर्टेसन हाइवेमा स्नातकोत्तर अध्ययन गर्दै आएका थिए । उनी रेलवे इञ्जिनियरिङमा स्नातकोत्तर गर्दै थिए । 

अहिले उनै इञ्जिनियरलाई चीनको नेसनल सेक्युरिटी गार्डले अनुसन्धानको लागि हिरासतमा लिएको बताइन्छ । सुरक्षा निकायले सिंह अध्ययनरत संस्थालाई जानकारी गराएर अनुसन्धानको निम्ति हिरासतमा लिएको जानकारी दिएको छ । उनी पक्राउ परेको जानकारी बेइजिङस्थित नेपाली दूतावासले २० दिनपछि मात्रै पाएको थियो ।

अब उनीमाथि लागेको आरोप र गरिएको आशंकाको छानबिन पूरा हुन कम्तिमा तीन र बढीमा छ महिना लाग्ने चिनियाँ अधिकारीहरु बताउँछन् । तर, लागेको आरोपबारे केही बताइएको छैन । चीनमा असामान्य आरोप लागेको अवस्थामा बाहेक सरकारी छात्रवृत्तिमा अध्ययनरत विद्यार्थाीलाई सुरक्षा निकायले लामो समयसम्म हिरासतमा नराख्ने चीनबाट फर्केका नेपाली विद्यार्थीहरु बताउँछन् ।

टिप्पणीहरू