भद्र बनाउन मै हुँ भन्ठान्नेहरूलाई अभद्र मुद्दा

भद्र बनाउन मै हुँ भन्ठान्नेहरूलाई अभद्र मुद्दा

काभ्रे जिल्लाअन्तर्गत अभद्र व्यवहारसम्बन्धी मुद्दामा ३० महिनामा १ सय ३६ घटना दर्ता हुँदा १ सय ७० जना पक्राउ परेका छन् । ५ जना फरार छन् । महाभारत गाउँपालिकाको एउटा पनि घटना दर्ता भएन । सबैभन्दा धेरै बनेपामा ३० वटा अभद्र व्यवहारका घटना रेकर्डेड छन् । 

०७७ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्मको ३० महिनामा जिल्लामा १ सय ३६ वटा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएका छन् । जसअन्तर्गत १ सय ७० जना पक्राउ परेका छन् । जसमा ९ जना महिला छन् । १३ पालिकामध्ये सबैभन्दा धेरै बनेपा नगरपालिकामा ३० वटा अभद्र व्यवहारसम्वन्धी घटना दर्ता भएका छन् । बनेपामा दर्ता भएका जाहेरीमा ३२ पुरुष र ५ महिला गरी ३७ जना पक्राउ परेका छन् ।

बनेपापछि सदरमुकाम धुलिखेल नगरपालिकाभित्र धेरै अभद्र व्यवहारसम्बन्धी घटनाको जाहेरी दर्ता भएका छन् । धुलिखेलमा ३० महिनामा २३ वटा जाहेरी दर्ता हुँदा पाँचखाल नगरपालिकामा २१ वटा जाहेरी परेको देखिन्छ । पाँचखालमा दर्ता भएका घटनामा २६ जना पक्राउ परेका छन् । महाभारत गाउँपालिकाबाट ३० महिनामा एउटा पनि जाहेरी दर्ता भएनन् । आत्महत्या गर्ने संख्या पनि कम भएको पालिकाका रूपमा महाभारत गाउँपालिकाभित्र यो अवधिमा एउटा पनि अभद्र व्यवहारका घटना भएनन् । तेमाल गाउँपालिकाको एउटा मात्रै घटना दर्ता भएको छ ।

चौरीदेउराली र खानीखोलाका २/२ वटा घटना दर्ता भएका छन् । बेथान्चोक गाउँपालिकाका ३ वटा, पनौती १२, मण्डनदेउपुर ११, नमोबुद्द १०, भुम्लुका १० वटा घटना छन् । समाजमा विभिन्न घटनामार्फत अराजकता फैलाउने, शान्ति सुव्यस्था खल्बल्याउने समूह तथा व्यक्तिलाई राज्यले अभद्र व्यवहारमा जाहेरी लिएर मुद्दा दर्ता गर्ने गर्छ । न्यूनतम २४ दिनसम्म हिरासतमा राखेर धरौटी अर्थात् साधारण तारेखमा छाड्न सकिने उक्त मुद्दा प्रहरीले जिल्ला प्रशासन कार्यालयमा बुझाउँछ । प्रमुख जिल्ला अधिकारीले मुद्दाको सुनुवाइ र फैसला गर्छन् । 

बनेपा नगरपालिकाभित्र ०७७/७८ मा १४ वटा जाहेरी दर्ता हुँदा १७ पुरुष र २ महिला गरी १९ जना पक्राउ परे । ०७८/७९ मा १६ वटा जाहेरी दर्ता भए । जसमा १५ पुरुष र ३ महिलासमेत गरी १८ जना समातिए । चालु वर्षको पुस मसान्तसम्म अभद्र व्यवहारमा कुनै जाहेरी दर्ता भएका छैनन् । पाँचखाल नगरपालिकाभित्र ०७७/७८ मा ३ वटा जाहेरी दर्ता भए । जसमा ४ पुरुष पक्राउ परे । ०७८/७९ मा १४ वटा जाहेरी दर्ता भए । जसमा १७ पुरुष पक्राउ परे । चालु वर्षको पुस मसान्तसम्म ४ वटा जाहेरी दर्ता भए । जसमा ५ पुरुष समातिए । खानीखोला गाउँपालिकाभित्र ०७७/७८ मा एउटा जाहेरी दर्ता भयो । जसमा १ पुरुष पक्राउ परे । ०७८/७९ मा पनि एउटा मात्रै जाहेरी दर्ता भयो । 

–मोतीराम तिमल्सिना
 

टिप्पणीहरू