बेदुरामको मन्त्रालय फेरिएको चर्चा

बेदुरामको मन्त्रालय फेरिएको चर्चा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ताकेता गरेपछि एकीकृत समाजवादीले हिजो बैठक राखेर पार्टीबाट सरकारमा जाने दुई जनाको नाम टुंगो लगाए पनि उनीहरुले पाउने मन्त्रालयबारे भने निधो भैसकेको छैन । 

उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको समाजवादीबाट अर्को मन्त्रीमा प्रकाश ज्वालाको नाम सिफारिस भएको छ । हाल माओवादीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्हालिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ज्वालाई जिम्मा दिने भनिएको छ । तर, सरकारमा पार्टीको नेतृत्व गर्ने भुसालले कुन मन्त्रालय पाउँदैछन् अझै कन्फर्म भैसकेको छैन । 

तीन वटा मन्त्रालय दावी गरिरहेको समाजवादीले भौतिक पूर्वाधारसँगै श्रम र शिक्षा मागेको थियो । त्यस्तै, कृषि पनि उसको प्राथमिकतामा थियो । तर, दुइटा मात्रै पाउने भएपछि हिजो साँझ भुसाल श्रम मन्त्री बन्ने चर्चा चल्यो । लगत्तै फेरी कृषि मन्त्री भनियो । 

आज फेरी भुसालको नाम शिक्षामन्त्रीमा चर्चा छ । समाजवादीका एक नेताका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने निधो भैसकेको छ । अर्को मन्त्रालय सम्भवत: शिक्षा नै हुनेछ । तर, श्रममा पनि समाजवादीले रुचि राखेको उनले बताए ।

 

टिप्पणीहरू