स्वर्गवासीलाई लाइसेन्स दिने, अख्तियारले चोख्याउने

स्वर्गवासीलाई लाइसेन्स दिने, अख्तियारले चोख्याउने

यातायात व्यवस्था कार्यालय,सवारी चालक अनुमतिपत्र शाखा,ठूलो भर्याङका एक कम्प्युटर अधिकृतले आफ्नो गल्ती ढाकछोप गर्न विवरण नै उडाएको पाइएको छ । अधिकृत वासुदेव रेग्मीले केही वर्षअघि  मरिसकेका व्यक्तिहरुको नाममा पहिले जारी भएको लाइसेन्स दुरुपयोग गरेर सोही नम्बरमा नयाँ लाइसेन्स बनाएका थिए । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको पुराना ढड्डा पल्टाएर उनले वर्षौंसम्म नवीकरण नभएका र मृत्यु भएका लाइसेन्सधनीहरु पत्ता लगाएका हुन् । 

पुरानै लाइसेन्स नम्बरमा नयाँ नाम राखेर उनले फर्जी लाइसेन्स बाँडेका थिए । त्यतिबेला वासुदेवले ००६–७१४२७२ नम्बरको भुवनमान मंग्राती, ००६–७१२५३० नम्बरको राजेन्द्रकुमार थारु, ००६–७१०७५० नम्बरको गुण्डाबहादुर कुमारलाई लाइसेन्स दिएका थिए ।

उनलाई आर्थिक प्रलोभनमा पारेर एक हातले दिने र अर्को हातले लाइसेन्स लिनेहरु अरु पनि छन् । विनोद भैलेले ००६–७११७१५, खिमदोर्जे लामाले ००६–७११७५४, सुशीलदेव शाहीले ००६–७११३०७ र राजकुमार मोक्तानले ००६–७११३१० नम्बरको लाइसेन्स पाएका थिए । कार्यालयका एक कर्मचारीकाअनुसार यस कार्यमा वासुदेवले प्रतिव्यक्ति डेढ लाख रुपैयाँसम्म घुस बुझेका थिए ।

लिखित र प्रयोगात्मक परीक्षाबिना अर्काको नाममा जारी भएको लाइसेन्स दुरुपयोग गरेका वासुदेवले तीन जनाको नाम कम्प्युटरबाट मेटाइसकेको पाइएको छ । सरकारी तथ्याङ्कलाई सहजै फेरबदल गर्ने पदमा भएको फाइदा उनले उठाएको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् । 

उनले पहुँचको दुरुपयोग गरेर थप व्यक्तिलाई त्यसरी नै लाइसेन्स वितरण गरेको आशंका छ । अहिले ती लाइसेन्सका कुनै पनि विवरण भेटिँदैनन् । घुस खुवाएर लाइसेन्स लगेकाहरुको नवीकरण कहिल्यै हुँदैन । त्यसैले ती लाइसेन्सहरु अवैध भइसकेका छन् ।

उनले विनोद,राजेन्द्र र भुवनमानको विवरण हटाएको स्रोतले बतायो । त्यसैगरी राजकुमार,सुशील, खिम र गुण्डाबहादुरको नाम पनि सरकारी रेकर्डबाट मेटाइसकेको स्रोतको दाबी छ । 

उनलाई यस कार्यमा कार्यालय प्रमुख सञ्जय थापाले सहयोग गरेको बताइन्छ । उनीहरुको नाम मेटाउन सञ्जयको आईडी (पासवर्ड) प्रयोग भएको पाइएको छ । अति गोप्य र संवेदनशील हुने भएकाले पासवर्ड त्यहाँको सम्बन्धित व्यक्तिबाहेक अरु कसैलाई थाहा हुँदैन । अनेक काण्डमा मुछिएका उनले कार्यालय प्रमुखको सहयोग लिएका थिए । 

वासुदेवको गैरकानुनी धन्दाको कुनै सीमा नभएको बताउनेहरु पनि थुप्रै छन् । उनले राजकुमार, सुशील, खिम र गुण्डाबहादुरलाई फर्जी लाइसेन्स दिएको दुई वर्ष नपुग्दै त्यही नम्बरमा नयाँ लाइसेन्स जारी गरेका थिए । ००६–७११३१० नम्बरको लाइसेन्स रुद्रबहादुर गिरीको हातमा परेको छ । ००६–७११३०७ नम्बरको नवराज राई, ००६–७११७५४ नम्बरको शिवकुमार साह, ००६–७१०७५० नम्बरको पल्लभ डंगोललाई सवारी लाइसेन्स दिइएको छ । 

यातायात कार्यालय एकान्तकुनामा दैनिक दुई दर्जन फर्जी लाइसेन्सधारीहरु आउने गरेको बताइन्छ । अख्तियारमा अनेकौं मुद्दा खेपिरहेका वासुदेवले पुराना लाइसेन्सलाई नयाँ बनाएर आफ्नो अवैध धन्दा लुकाउन अनेका चलखेल गरेका हुन् । पुराना रद्द गराउने र नयाँ वितरण गर्ने काममा यातायात व्यवस्था विभागको सूचना प्रविधि शाखाका केही कर्मचारीले पनि उत्तिकै सहयोग पुर्याइरहेको सहजै अनुमान गर्न सकिन्छ । 

यसअघि जनआस्थामा समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान अघि बढाएको थियो । वासुदेवले गरेको गलत काम प्रमाणित भइसक्दा समेत आयोगले उनलाई उन्मुक्ति दिएको यातायात कार्यालयका कर्मचारीहरुको आरोप छ ।

टिप्पणीहरू