विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल

विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल

 ऋषि भट्टराई 
बुटवल उपमहानगरपालिकाले  विश्व बैंकका प्रतिनिधि तथा विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल गरेको छ । उपमहानगरपालिकामा हिजो आयोजित छलफलमा आठ वटा योजनाको प्रस्ताव गरिएको बताइएको छ । 

नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको एकचरणको विकास अगाडि बढिसकेकाले बाँकी पूर्वाधार निर्माणका लागि योजना प्रस्ताव गरेका छन् । उनले बुटवलको १ सय ५० किलोमीटर आन्तरिक सडक, मुख्य र सहायक मार्गको १ सय ३५ किलोमीटर खुल्ला नाली निर्माण, तिनाउ नदी नियन्त्रण तथा जलपर्यटन, पुरानो बुटवलको मौलिकता संरक्षण गर्दै पुनःनिर्माण गर्ने बताएका छन् ।

पर्यटकीय स्थलको विकास, प्रत्येक वडामा सुविधासम्पन्न शहरी स्वास्थ्य केन्द्र निर्माण, महिला उद्यमशीलता तथा सशक्तिकरण, पार्किङ र व्यवसायिक भवन निर्माण र हरियाली पार्कहरु निर्माणका लागि प्रस्ताव गरेका हुन् । विकास साझेदारहरु विश्व बैंक, युएनडीपी, बेलायतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय, काठमाडौंस्थित बेलायती दूतावास, शहरी विकास मन्त्रालयका प्रतिनिधिसहितको छलफलमा नगरप्रमुख पाण्डेयले विकासका दृष्टिले बुटवलले अगुवाई गर्दै गरेको अवस्थामा उपमहानगरलाई देशकै समृद्ध शहरका रुपमा स्थापित गर्न विकास साझेदारहरुसँगको सहकार्य जरुरी रहेको बताएका छन् । 

उनले नेपाललाई विदेशी दातृनिकायहरुको साथ र सहकार्य आवश्यक रहेको र स्थानीय सरकारका रुपमा विकास र समृद्धिका लागि सकारात्मक भूमिका निर्वाह गर्ने पनि उल्लेख गरेका छन् । यसअघि पनि विकास साझेदारहरुसँग छलफल गरिएको बताउँदै प्रमुख पाण्डेयले बुटवलको विकासको लाभ बुटवल आसपासका एक दर्जनभन्दा बढी जिल्लाले लिनसक्ने जानकारी गराएका छन् ।

छलफलमा बोल्दै विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले बुटवलजस्तो उदाउँदो शहरसँग सहकार्यका लागि हात अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले बुटवलको तीब्र विकासले आफूहरु प्रभावित भएको बताउँदै बुटवलमा कुनै न कुनै योजनामा काम गर्न आफूहरु इच्छुक रहेको उल्लेख गरे । उनले बुटवलका प्रस्ताव राम्रा रहेको र आमनागरिकलाई प्रशस्त लाभ हुने भएकाले विश्व बैंक सकारात्मक रहेको बताए ।

कार्यक्रममा बेलायती दूतावासकी प्रतिनिधि सविता थापाले बुटवलको विकासमा हातेमालो गर्न इच्छुक रहेको जानकारी दिइन् । जनतालाई लाभ हुने योजनामा सहकार्य गर्न बेलायत सकारात्मक रहेको बताइन् । युएनडीपी प्रतिनिधि एन्डर्स म्याग्नुसनले बुटवलले विकासमा राम्रो प्रगति गरेको धारणा राखेका थिए । 

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासका लागि विकास साझेदारहरुको साथ आवश्यक रहेको जानकारी दिएकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवललाई समृद्ध बनाउन योजनाहरु तयार पारिएकाले त्यसमा सहकार्य गर्न विकास साझेदारहरुलाई आग्रह गरेका छन् । ।

छलफलपछि बुटवल उपमहानगरपालिका र विकास साझेदार संस्थाका प्रतिनिधिहरुको टोलीले पुरानो बुटवल र जीतगढी किल्लाको अवलोकन गरेका थिए ।

टिप्पणीहरू