स्थानीय तहबाटै श्रम स्वीकृतिका लागि आवेदन खुल्ला

स्थानीय तहबाटै श्रम स्वीकृतिका लागि आवेदन खुल्ला

सरकारले वैदेशिक रोजगारीमा जानेलाई स्थानीय तहबाटै व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन दिने व्यवस्था मिलाउन लागेको छ । 

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सो व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो । यसका लागि ७५३ वटै स्थानीय तहमा रोजगारी सेवा केन्द्र स्थापना गरिने मन्त्रालयले जनाएको छ । 

वैदेशिक रोजगारीलाई थप व्यवस्थित,मर्यादित, सुरक्षित,भरपर्दो, पारदर्शी तथा सहज बनाउनुका साथै सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्ने उद्धेश्यले स्थानीय तहमा यो व्यवस्था गर्न लागिएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता डण्डुराज घिमिरेले बताए । प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा हिजो बसेको बैठकले उल्लेखित निर्णय गरेको उनले जानकारी दिए । 

‘स्थानीय तहबाटै वैदेशिक रोजगारीसम्बन्धी सूचना सरोकारवालामा पुर्याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्ने कार्य आगामी वैशाख १, २०८० देखि ७५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत समेत गर्ने गरी नेपाल सरकार (सम्माननीय प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री) स्तरीय निर्णय मिति २०७९–१२–१६ मा भएको व्यहोरा जानकारी गराउँदैछौं’, जारी सूचनामा भनिएको छ । 

त्यस्तै,मन्त्रालयले सो अवधिमा रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम सञ्चालन गर्ने जनाएको छ ।

टिप्पणीहरू