जनप्रतिनिधि र कर्मचारीका सन्तानले सरकारी स्कुलमै पढ्नुपर्ने

जनप्रतिनिधि र कर्मचारीका सन्तानले सरकारी स्कुलमै पढ्नुपर्ने

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र सरकारी कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा कक्षा ८ सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउन आग्रह गरेको छ । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राईले एक सूचना प्रकाशित गर्दै शैक्षिक सत्र २०८० सालदेखि अनिवार्य रुपमा जनप्रतिनिधि, शिक्षक र सरकारी कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउन आग्रह गरेका हुन् । सूचनामा शिक्षा ऐन, २०७९ को दफा (२२) बमोजिम विद्यालयमा कार्यरत शिक्षक र कर्माचारीका छोराछोरीलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा ८) सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै गत चैत १३ गते बसेको पालिका अध्यक्षस्तरीय बैठकले यस्तो  निर्णय गरेको उल्लेख छ ।
 
सूचनामा भनिएको छ, ‘यस कार्यालयको चैत १३ गतेको (पालिका अध्यक्षस्तरीय) निर्णयबमोजिम सम्पूर्ण मिक्लाजुङ गाउँपालिका भरिका निर्वाचित जनप्रतिनिधिहरु, सामुदायिक विद्यालयका कार्यरत शिक्षक तथा शिक्षिकाहरु, विद्यालय कर्मचारीहरु र सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुका छोराछोरीहरुलाई शैक्षिक सत्र २०८० देखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।’

टिप्पणीहरू