श्रीमतीविरुद्ध प्रहरी अनुसन्धान जारी, पूर्वराजदूत भन्छन्,‘त्यो सबै झुठो हो’

श्रीमतीविरुद्ध प्रहरी अनुसन्धान जारी, पूर्वराजदूत भन्छन्,‘त्यो सबै झुठो हो’

पूर्वराजदूत निरञ्जनमानसिंह बस्नेतकी श्रीमती रेणुकुमारी बस्नेत थापाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । बैंकमा रोक्का रहेको जग्गा सस्तोमा मिलाइदिने प्रलोभनमा रकम लिएर ठगी गरेको आरोप लगाउँदै पीडितले निवेदन दायर गरेपछि मुद्दा दर्ता भएको बताइन्छ ।

महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरबाट खटिएको टोलीले उनलाई गत बुधबार पक्राउ गरेको थियो । तर,स्वास्थ्य अवस्था सन्तोषजनक नभएको उल्लेख गरेपछि उनलाई हिरासतमा नराखिएको प्रहरीको भनाइ छ ।

यस्तो छ घटना विवरण

नागरिकतामा कुमारी रेणु थापा नाम उल्लेख भएकी रेणुकुमारीले २०७३ सालमा सस्तो जग्गा मिलाइदिने भन्दै बैनावापत भुवनविक्रम घिमिरेसँग ७५ लाख रुपैयाँ लिएकी थिइन् । काठमाडौं काँडाघारीको जग्गा सस्तोमा मिलाइदिने आश्वासनमा रकम लिएकी उनी त्यसपछि अमेरिका गइन् । 

कोरोना महामारीलगायत विभिन्न कारणले लामो समयसम्म नेपाल फर्किनन् । फर्केपछि पनि भुवनको नाममा जग्गा पास गर्न आनाकानी गरिन् । भुवनले बुझ्दै जाँदा उक्त जग्गा बैंकको नाममा रोक्का रहेको तथ्य खुल्यो । बैंकले रोक्का राखेको उक्त  जग्गा फुकुवा गर्न भनेर लिएको रकम आफूलाई नदिएपछि पीडितले ठगीको आरोपमा प्रहरी गुहारेका हुन् । 

जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि गत बुधबार महानगरीय प्रहरी वृत्त,बानेश्वरले उनलाई नियन्त्रणमा लिएको हो । तर, स्वास्थ्य अवस्था ठीक नभएको उल्लेख गर्दै अनुसन्धान अवधिसम्म प्रहरी कार्यालयमा बस्न नसक्ने बताएपछि प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय,काठमाडौंको सहमतिमा उनलाई बिहिबार हाजिर–जमानीमा छोडियो । 

उनलाई छाडेपनि अनुसन्धान भने जारी रहेको जिल्ला प्रहरी परिसर,काठमाडौंले जनाएको छ । प्रहरी नायव उपरीक्षक (डिएसपी) निरञ्जन भट्टले जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनपछि उनलाई छाड्नुपरेको बताए । 

उनकाअनुसार जघन्य अपराध नगरेका, प्रमाणहरु नष्ट गर्न नसक्ने,शारीरिक अवस्था ठीक नभएकालाई सरकारी वकिल कार्यालयको अनुमतिमा छाड्न मिल्छ । त्यस्तालाई हिरासतमा नराखी २५ दिनसम्म अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था रहेको डिएसपी भट्टको भनाइ छ ।

थापाविरुद्ध परेको उजुरी अनुसन्धानको क्रममा बैंक,मालपोतलगायत कार्यालयबाट प्रमाण जुटाउने कार्य भइरहेको पनि डिएसपी भट्टले जानकारी दिए । अनुसन्धानको क्रममा कसूर पुष्टि भएमा थापालाई पुनः पक्राउ गरेर अदालतमा उभ्याइने उनी बताउँछन् । 

जनआस्थासँगको कुराकानीमा उनले भने, ‘यो सामान्य ठगीको विषय हो । यस्ता केसहरु दिनहुँ आइरहेका हुन्छन् । त्यसैले यो मात्रै ठूलो होइन ।’ अगाडि भने, ‘यो अनुसन्धानको क्रममा छ । त्यसैले यसबारे धेरै बोल्न मिल्दैन ।’ 

तर माथिल्लो तहको आदेशका कारण प्रतिवादी बस्नेतलाई छाड्नुपरेको प्रहरी वृत्त, बानेश्वरका एक अधिकृतले बताए । ‘माथिल्लो तहबाट आदेश आएपछि के गर्ने ? छोड्नैपर्यो । अहिले उहाँविरुद्ध मुद्दा चलिरहेको छ । अनुसन्धानको क्रममा के–के तथ्य फेला पर्छ, हेर्दै जाऔं’,ती अधिकृतले भने । 

झुठो मुद्दा हालिएको पूर्वराजदूतको दाबी 

पूर्वराजदूत बस्नेतले आफ्नी श्रीमतीविरुद्ध झुठो मुद्दा परेको दाबी गरेका छन् । वादी भुवनले रेणुकुमारीविरुद्ध झुठो जाहेरी हालेको उनको ठोकुवा छ । 

जनआस्थालाई लेखेको इमेलमा उनले भनेका छन्, ‘झुठो मुद्दा परेकाले प्रहरीले मेरी श्रीमतीलाई छाडेको हो ।’ पूर्वराजदूतको श्रीमती पक्राउ शीर्षकमा छापिएको समाचारले आफ्नो र श्रीमतीको मानहानी भएको उनले उल्लेख गरेका छन् । भुवनविक्रम घिमिरेको झुठो जाहेरीको आधारमा आफ्नो सामाजिक प्रतिष्ठामा ठूलो क्षति भएको उनको दाबी छ । श्रीमतीलाई प्रहरीले झुठो मुद्दा परेको भन्दै छाडिदिएको उनको भनाइ छ ।

तर,रेणुकुमारीलाई के आधारमा छाडियो ? भन्ने प्रहरी अधिकृतहरुको भनाइबाट पनि स्पष्ट भइसकेको छ । उनकी श्रीमतीविरुद्ध प्रहरीले अहिले पनि अनुसन्धान जारी राखेको छ । 

पूर्वराजदूत बस्नेतलाई जनआस्थाले वास्तविकता बुझ्न आग्रह गर्दै अस्ति आइतबार लेखेको इमेलको जवाफ हालसम्म प्राप्त भएको छैन । बस्नेतले यसअघि लेखेको इमेलमा जवाफ फर्काउँदै लेखिएको इमेलको प्रत्युत्तर दिइएको छैन भने जनआस्थाको तर्फबाट दिइएको मोबाइल नम्बरमा समेत उनले हालसम्म सम्पर्क गरेका छैनन् ।

टिप्पणीहरू