यातायात कार्यालयबाट दश जना बिचौलिया समातिए

यातायात कार्यालयबाट दश जना बिचौलिया समातिए

सेवाग्राहीलाई छिटो काम गराइदिने प्रलोभनमा पारेर पैसा लिने र अनावश्यक दुःख दिने गरेको आरोपमा दश जना बिचौलिया पक्राउ परेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिकास्थित नारायणी यातायात कार्यालयमा सेवाग्राहीलाई छिटोछरितो काम गरिदिन्छु भनी दुःख, हैरानी दिने गरेको आरोपमा बिचौलियालाई प्रहरीले हिजो समातेको हो । 

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिकाका २५ वर्षीय आलोककुमार यादव, ४५ वर्षीय किशोरकुमार दयाल, ५० वर्षीय दिपलाल साह, ४६ वर्षीय रामबाबु झा, ४५ वर्षीय राजेश लामा, ३७ वर्षीय रजित गुप्ता, २३ वर्षीय लालबाबु महतो रहेका छन् । त्यस्तै, कालिकामाई गाउँपालिकाका ४० वर्षीय राजेश महतो र बारा घर भएका ४५ वर्षीय दरोगा दास र ३० वर्षीय मुकेश साह पनि समातिएका हुन् । 

जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले प्राप्त गुनासोको आधारमा अनुगमन गर्ने क्रममा सरकारी अड्डामा बिचौलियाको काम गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट थप सात दिन म्याद थप गराई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू