एकैदिन दुई हजार चिनियाँको ओइरो, केरुङमा एक लाख भेला

एकैदिन दुई हजार चिनियाँको ओइरो, केरुङमा एक लाख भेला

नयाँ वर्ष २०८० को अघिल्लो दिन छिमेकी मुलुक चीनबाट दुई हजार पर्यटक नेपाल घुम्न आउँदैछन् । चैत मसान्तको दिनदेखि हिमालय एअरलाइन्सको उडानमा ‘ग्रुप टुरिस्ट’ आउन लागेका हुन् ।

ती सबैलाई नेपालस्थित चिनियाँ राजदूत,पर्यटन मन्त्रालयका सचिवलगायत सरकारी अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने तयारी छ । चिनियाँ पर्यटकहरु समूहमा आउन थालेपछि पर्यटन क्षेत्र थप चलायमान हुने विश्वास सरकारी अधिकारीहरुले व्यक्त गरेका छन् ।

यसबीच दूतावासको सैनिक र प्रशासनिक टोली केरुङको भ्रमण गरेर फर्केको बुझिएको छ । उता चीनले रसुवागढीदेखि केरुङसम्मको १६ किलोमीटर सडक मर्मत गर्न थालेको छ । पछिल्लो समय भत्केको सडक पुनर्निर्माण गरेर चीनले पर्यटक र आयात निर्यात व्यापारलाई सहज बनाउने उद्देश्य राखेको बताइन्छ । 

तर,चीनसँगको सबैभन्दा पुरानो तातोपानी नाका पूर्णरुपमा खुल्ने सम्भावना अझै देखिएको छैन । अप्रिल महिनामा केरुङमा भव्य पर्यटन मेला आयोजना गर्न लागिएको छ । मेलामा १ लाख चिनियाँको सहभागिता हुने छ । मेलामा सहभागीमध्ये केहीलाई नेपाल भ्रमणको निम्ति पहल गर्न पर्यटन बोर्डले त्यहाँ पुगेर पर्यटन प्रवर्धनसम्बन्धी कार्यक्रम गर्न लागेको बुझिएको छ । 

नयाँ वर्ष २०२३ लागेपछि पर्यटक संख्यामा राम्रो बढोत्तरी देखिन थालेको छ । मार्च महिनामा मात्रै ९९ हजार पर्यटक नेपाल भित्रिएका थिए । गत जनवरी र फेब्रुअरीमा १ लाख २० हजार आए । पछिल्लो तीन महिनामा दुई लाख २० हजार विदेशी पर्यटक नेपाल आएका छन् । यो हिसाबले वर्षको अन्तसम्ममा १० लाख पुग्ने प्रक्षेपण गरिएको छ । तीन महिनामा सबैभन्दा धेरै भारतीय, त्यसपछि युरोप, अमेरिका र चीनबाट  नेपाल आएका छन् ।
 

टिप्पणीहरू