पाँचतारे होटलमा सहकारीको प्रशंसा, व्यवहारमा जनताको बिचल्ली

पाँचतारे होटलमा सहकारीको प्रशंसा, व्यवहारमा जनताको बिचल्ली

राजधानीमा हिजोदेखि शुरु भएको तेस्राे सहकारी महासम्मेलन भोलिसम्म चल्नेछ । सम्मेलन राजधानीको पाँचतारे होटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको हो ।

राष्ट्र बैंकका गभर्नर, सहकारी विभागका हाकिमहरु, सहकारीसम्बद्ध संस्थाका प्रमुख तथा प्रतिनिधिलगायत सयौंको सहभागितामा कार्यक्रम उद्घाटन भएको छ । तीन दिनदेखि विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिँदैछ । कार्यपत्र पूर्वअर्थमन्त्री युवराज खतिवडालगायत अर्थसचिव रामेश्वर खनाल र केही विदेशीले समेत प्रस्तुत गर्दैछन् ।

हिजोको उद्घाटन समारोहमा धारणा राख्ने प्रधानमन्त्रीलगायत सबैजसो अतिथिले मुलुकमा सहकारी फस्टाएको,अर्थतन्त्रमा योगदान पुर्याएको भाषण गरेका थिए । अरु सबै ठीक तर ती संस्थामा नगद तरलताको अभाव भएको उनले बताएका छन् । नगद तरलता भनेको हिउँद या सुख्यायामको खोला नालामा पानीको बहाव घटेझैं बर्खा लागेपछि बढ्ने भन्ने आशयको प्रस्तुति हिजो वरिष्ठहरुको देखिन्थ्यो ।

मुलुकभर ठूला भनिएका सहकारी र त्यसका पदाधिकारीले गरेको गैरकानुनी लगानीका कारण दशौं लाख सर्वसाधारणको दशौं अरब निक्षेप जोखिममा परेको छ । सर्वसाधारणले हाड घोटेर जम्मा पारेको निक्षेप प्राप्त हुन नसकेपछि रुवाबासी सुनिन थालेको छ । तर,तारे होटलमा चिटिक्क परेर महँगो गाडीमा पुगेका अधिकांशको भाषण र प्रस्तुतिमा लगानी प्रवाहको रणनीति, समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन, सर्वसाधारणको निक्षेप फिर्ता विषयलाई व्यवहारिक हिसाबले समेटिएको पाइएको छैन ।

दिइएको विवरणअनुसार मुलुकभर ३१ हजार सहकारी संस्था छन् । तर,अनौपचारिक क्षेत्रले ३६ हजारभन्दा बढी रहेको बताउँदै आएको छ । ती सबैमा ७३ लाख सदस्य रहेको र ५६ प्रतिशत महिलाको सहभागिता रहेको तथ्य पनि खुलाइएको छ । यी संख्यालाई ओल्टाईपल्टाई गरेर सबैजसो अतिथि र सहभागीले नेपाल सहकारी आन्दोलनको हिसाबले विश्वकै उत्कृष्ट मुलुक भनेका छन् । याक एण्ड यतिमा उपस्थित सहभागीको संख्याले महिलाको प्रतिनिधित्व मुश्किलले पाँच प्रतिशत देखाइरहेको छ ।

सहकारीको नाममा भइरहेको व्यापारीकरणले अन्तत्वगत्वा कृषि उत्पादन र विकासमा उल्टो असर पुर्याउने निश्चित छ । भारतको उदाहरण हेर्ने हो भने एउटा सहकारीको रुपमा स्थापित अमुलले कृषि र कृषिजन्य उत्पादनमा कायापलट ल्याएको छ । तर,नेपालमा त्यसतर्फ कसैले चासो दिएको देखिँदैन । यसबीचमा भएका सिभिल, लालीगुराँस,गौतम सहकारीलगायत सयौं संस्थाभित्रका अनियमितताले सहकारीको नाममा गरिएका ठूला सैद्धान्तिक भाषणलाई गिज्याइरहेको छ ।

टिप्पणीहरू