च्यानल वितरणमा ‘एलाकार्ट’ लागू, अब रोजेर खरिद गर्न सकिने

च्यानल वितरणमा ‘एलाकार्ट’ लागू, अब रोजेर खरिद गर्न सकिने

सरकारले टेलिभिजन च्यानलहरुको वितरणमा ‘एलाकार्ट’ मूल्य प्रणाली लागू गरेको छ । टेलिभिजन च्यानलहरुको सिग्नल वितरण गर्ने इजाजतपत्र प्राप्त संस्थाहरुले उपभोक्ताबाट लिने शुल्कलाई पारदर्शी, व्यवस्थित तथा वैज्ञानिक बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यो व्यवस्था लागू गरेको हो । 

गत चैत १५ गतेको मन्त्रीस्तरीय निर्णयबाट ‘एलाकार्ट’ मूल्य प्रणाली तथा शुल्क निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । अब टेलिभिजनका दर्शकले सीमित शुल्कमा आफ्नो रोजाइको च्यानल मात्रै खरिद गर्न सक्नेछन् । 

आधारभूत च्यानल खरिदका लागि २५० र अधिकतमका लागि पाँच सय रुपैयाँ शुल्क तोकिएको छ । न्यूनतम प्याकेजमा प्रसारण संस्थाले नेपाली टेलिभिजन च्यानल तथा विदेशी फ्रि टु एयर च्यानलहरु उपभोक्तालाई देखाउनुपर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार त्यसमा सूचनामूलक, समाचारमूलक, शिक्षाप्रद, मनोरञ्जनात्मक, खेलकुदलगायतका च्यानलहरु समावेश भएको हुनुपर्छ । 

त्यस्तै, सःशुल्क च्यानलहरु प्रसारण गरेवापत अलग–अलग रुपमा वा च्यानलहरुको प्याकेजका आधारमा शुल्क लिन पाउने मन्त्रालयको निर्णय छ । प्रत्येक प्याकेजको अधिकतम मूल्य ४० रुपैयाँ (करसहित) भन्दा बढी लिन नहुने मन्त्रालयले स्पष्ट पारेको छ । 

‘सःशुल्क टेलिभिजन च्यानलहरुमा सूचनामूलक, समाचारमूलक, शिक्षाप्रद, मनोरञ्जनात्मक, खेलकुद आदि विषयवस्तुहरु समावेश भएको हुनुपर्ने’, आज जारी सूचनामा भनिएको छ । सःशुल्क टेलिभिजन च्यानलहरु रोज्ने वा नरोज्ने भन्ने विषय उपभोक्ता स्वयम्ले निर्णय गर्न पाउने उल्लेख गर्दै मन्त्रालयले सो निर्णयलाई प्रसारण संस्थाले अनिवार्य रुपमा पालना गर्नुपर्ने जनाएको छ ।

नेपालमा केबुल, एमएसओ, डिटिएच, आईपीटिभी, एमएमडीएस, डीटीटीबीले टेलिभिजन सिग्नल वितरणको इजाजत पाएका छन् । उनीहरुले स्वदेशी टेलिभिजन र विभिन्न स–शुल्क विदेशी टेलिभिजन च्यानलहरू उपभोक्तालाई वितरण गर्दै आइरहेका छन् । त्यसवापत उपभोक्ताहरूले नेपाली सिग्नल वितरकलाई फरक–फरक शुल्क तिर्दै आएका थिए ।
 

टिप्पणीहरू