नेपालीले वाइवाइ नखाँदा पनि विनोद चौधरीको सम्पत्ति ह्वार्ह्वारी

नेपालीले वाइवाइ नखाँदा पनि विनोद चौधरीको सम्पत्ति ह्वार्ह्वारी

विनोद चौधरी अस्तिदेखि डलर अर्बपतिको सूचीमा झन माथि पुगेका छन् । फोर्ब्स पत्रिकाका अनुसार यो वर्ष उनको स्थान १६४७ नम्बरमा रहेको छ । एक वर्षको अवधिमा झण्डै ३९ अर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति बढेकाले उनको स्थान बढेको फोर्ब्सको भनाइ छ ।

वाइवाइ चाउचाउ र नबिल बैंकका मालिकको रुपमा परिचित चौधरीको बढेको सम्पत्तिलाई लिएर सामाजिक सञ्जालमा कटाक्ष गरिएको छ । नेपाली काँग्रेसको तर्फबाट सांसद रहेका चौधरीको अधिकांश कारोबार पारदर्शी छैन । उनका व्यावसायिक गतिविधि पनि बेलाबखत शंकास्पद पाइने गरेको छ ।

समालोचक तथा भाषा विज्ञान केन्द्रीय विभागका प्राध्यापक राम लोहनीले त्यही ३९ अर्बलाई लक्षित गर्दै सामाजिक सञ्जालमा कटाक्ष गरेका छन् । लोहनीको कटाक्षमा अरुले गरेको कमेण्ट झन गम्भीर छ । प्राध्यापक लोहनीले चौधरीको एक वर्षमा बढेको ३९ अर्बमा आफ्नो तर्फबाट कुनै योगदान नभएको प्रष्ट पारेका छन् ।

‘नखाँदा पनि बढ्ने कस्तो सम्पत्ति रहेछ त रामजी ?’

उनले लेखेका छन्, ‘यो वर्ष मैले एउटा पनि वाइवाइ खाएको छैन । त्यसैले चौधरीजीको यो वर्ष बढेको ३९ अर्बमा मेरो कुनै योगदान नभएको व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध गर्दछु ।’ लोहनीको स्टाटसमाथि केदार सिटौला लेख्छन्, ‘पत्रु खाना खाओ, चौधरीजीलाई अघि बढाओ ।’

लोहनीलाई सोध्दै इशुले भनेकी छन्, ‘नखाँदा पनि बढ्ने कस्तो सम्पत्ति रहेछ त रामजी ?’ अर्का एक जनाले भारतमा बनेको वाइवाइ मात्र अन्यत्र निर्यात गर्ने गरेको उल्लेख गरेका छन् । प्रभातिकिरणले लेखेका छन्, ‘चौधरीजीको बढ्यो तर देशको बढेन । विदेशमा निर्यात हुने वाइवाइ नेपालमा बन्दैन । चौधरीको भारत शाखाले बनाएर पठाउँछ । राजस्व पनि भारतले नै लिन्छ ।’

टिप्पणीहरू