वैकल्पिक र करार शिक्षकको व्यवस्थापन गर्न निर्देशन

वैकल्पिक र करार शिक्षकको व्यवस्थापन गर्न निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैकल्पिक र करार शिक्षकहरुको व्यवस्थापन गर्न निर्देशन दिएको छ । 

शिक्षा विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइहरुलाई परिपत्र गर्दै केन्द्रले स्वीकृत शिक्षक पदस्थापना र मार्गदर्शनअनुसार वैकल्पिक उम्मेदवारहरुको पदस्थापनाको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ (१) अनुसार वैकल्पिक सूचीमा परेका उम्मेदवारहरु र नियम २४ (३) अनुसार करार सूचीमा परेका उम्मेदवारहरुको व्यवस्थापन गर्न परिपत्रमा भनिएको छ । 

केन्द्रले प्रदेशस्थित शिक्षा विकास निर्देशनालयलाई निम्न माध्यमिक र माध्यमिक तहको वैकल्पिक उम्मेदवार र करार सूचीको विवरण शिक्षक सेवा आयोगबाट लिएर अद्यावधिक अभिलेख राख्न पनि निर्देश गरेको छ । त्यस्तै, वैकल्पिक उम्मेदवार वा करार सूचीमा रहेका उम्मेदवारहरुको नियुक्ति गर्ने प्रयोजनका लागि माग भएमा सो विवरण प्रदेशअन्तर्गतका जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहमा पठाउन पनि निर्देशन दिइएको छ । 

प्राथमिक तहको वैकल्पिक उम्मेदवारहरुको सूची र करार सूचीमा रहेका उम्मेदवारहरुको विवरण शिक्षक सेवा आयोगबाट लिएर अद्यावद्यिक गर्न इकाइलाई निर्देशन दिइएको छ । 

वैकल्पिक उम्मेदवारहरुलाई नियुक्ति दिँदा शिक्षक सेवा आयोग नियमावली, २५७ (संशोधनसहित) को नियम २५ बमोजिमको अवस्था देखिएमा आधिकारिक अभिलेखका आधारमा यकिन गरी अघि बढ्न केन्द्रले सुझाव दिएको छ । 

त्यस्तै, उनीहरुलाई नियुक्त गरेको जानकारी शिक्षक सेवा आयोग र माध्यमिक– निम्न माध्यमिक तहको (वैकल्पिक र करार) नियुक्तिको हकमा प्रदेशस्थित शिक्षा विकास निर्देशनालयलाई समेत अनिवार्य रुपमा दिन भनिएको छ ।

टिप्पणीहरू