पुल सम्पन्न हुनेमा आशावादी छन् त्रिशुली पारीका जनता

पुल सम्पन्न हुनेमा आशावादी छन् त्रिशुली पारीका जनता गल्छी गाँउपालिका वडा नम्बर ४ मासटार र वडा नम्बर २ केउरेनीटार जोड्ने त्रिशुली नदीमाथी निर्माणधिन मोटर पुल ।

-शंकर श्रेष्ठ, धादिङ

त्रिशुली नदी तर्ने दुई वटा मोटरेवल पुल निर्माणको काम बल्ल तीव्र बनेको छ । सम्झौता अनुसार ३० महिनाअघि निर्माण सम्पन्न भइसक्नुपर्ने पुल निर्माणको कामलाई ठेकेदार कम्पनीले अहिले भने तीव्र पारेका छन् । 

गल्छी गाँउपालिकाको मासटार र केउरेनीटार जोड्ने पुल ३० महिनाअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । गल्छी गाँउपालिकाकै गल्छी र घर्तीटार जोडने पुल २७ महिना अघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर ठेकेदार कम्पनीले विभिन्न बहानामा ढिलासुस्ती गर्दै आएकोमा चौतर्फी दवादपछि अहिले ठेकेदार कम्पनी सक्रिय भएर निर्माणको कामलाई अघि बढाएको हो । 

गल्छी गाँउपालिका वडा नं. ४ मासटार र वडा नं. २ केउरेनीटार जोड्ने पुल निर्माणको लागि २०७७ मंसिर १३ गते निर्माण सम्पन्न गरिसक्नेगरी २३ करोड ७५ लाखमा तुदी, लामा र सपना निर्माण कम्पनीले संयुक्त रुपमा सम्झौता गरेका थिए । पुल निर्माणकै क्रममा बर्खे हावाहुरीले निर्माणणाधिन पुल ढलेपछि काम प्रभावित बनेकोमा अहिले धमाधम काम सुरु गरिएको निर्माण व्यावसायी हरी ढकालले बताए । 

यो पुल आधा ढलान र आधा स्टिल पार्टस् जोडेर निर्माण गरिदैछ । अहिले पुलमा ८० मिटर स्टिल पार्टस जडानको काम भइरहेको छ । पुलको दाया र बायाँ तीन सय मिटर कच्ची सडक निमार्ण गरिसकेपछि काम पुरा हुने भएकाले असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी काम भइरहेको ढकालको भनाई छ ।

त्इस्तै लुम्विनी र प्रकृतिले संयुक्त रुपमा १८ करोड ६१ हजार तीन सय ९६ रुपैयामा ठेक्का पारेको गल्छी गाँउपालिकाको गल्छी र घर्तीटार जोडन पुलको काम पनि धमाधम भइरहेको छ । २०७७ साल मंसिर २६ गते काम सम्पन्न गरिसक्नु पर्नेगरी २०७४ साल मंसिर २७ गते सम्झौता भएको थियो । 

पुलमा ८० मिटर स्टिल पार्टस जडान गर्ने काम अन्तिम चरणमा पुगेको र स्टिल पार्टमा ढलान गरी दायाँवायाँ मोटर बाटो बनापछि पुल निर्माण सम्पन्न हुने निर्माण व्यावसायी लंकु केसीले बताए । 

स्थानीयहरु सरकारको नियमन गर्ने प्रक्रिया र निर्माण कम्पनीको कार्यशैली प्रति आजित भएका छन् । २०७७ साल मंसिर महिनामा सम्पन्न हुनु पर्ने पुल ३० महिनासम्म पनि सम्पन्न नहुदाँ सरकार छैन कि देशमा जस्तो लाग्ने स्थानीयहरुले बताए । 

पुल निर्माणको कामले स्थानीयहरु पनि आशावादी बनेका छन् । पुल नबन्दा गाँउ मोटर ल्याउन पर्दा चर्को भाडा तिर्नु पर्ने बाध्यता छ । यी दुइ पुल सञ्चालनमा आएपछि तीन हजार किसान परिवार प्रत्यक्ष लाभाम्वित हुनेछन् । पुल संचालनमा आएपछि यहाँका किसानको ३० प्रतिशत वार्षिक आम्दानी बढाउन सकिने जानकारहरु बताउँछन् । 

टिप्पणीहरू