नेपाल र चीनले दुई मुलुकबीचको सम्बन्धलाई थप उचाईमा पुर्याउने

नेपाल र चीनले दुई मुलुकबीचको सम्बन्धलाई थप उचाईमा पुर्याउने

नेपालले चीनसँग दुई मुलुक बीचको व्यापार घाटा कम गराउन नयाँ प्रस्ताव गरेको छ । नेपाली उत्पादनहरू चिया, कफी, जडीबुटी, मासुलगायत कृषिजन्य वस्तुको निर्यातमा प्राथमिकता दिन चीनसँग आग्रह गरिएको बताइएको छ ।

राजधानी बेइजिङमा हिजो बसेको नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा नेपाली प्रतिनिधिमण्डलले उक्त प्रस्ताव गरेको हो । बैठकमा चिनियाँ पक्षले चिनियाँ लगानीकर्तालाई पारस्परिक हितका क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने धारणा राखेको छ । 

दुबै मुलुकका अधिकारीहरुबीच चीनको अनुदान सहयोगमा निर्माण भएका विभिन्न पूर्वाधार विकास आयोजना तथा चिनियाँ ठेक्कामा सञ्चालित आयोजनाको प्रगतिको समीक्षा भएको छ । उनीहरुले समयमै ती परियोजना सम्पन्न गर्ने सहमति गरेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र चीनको नेतृत्व विदेश मामिलासम्बन्धी उपमन्त्री सुन वेइजोङले गर्नुभएको हो । बैठकमा द्विपक्षीय उच्चस्तरीय भ्रमणको आदान–प्रदान गर्ने विषयमा थप छलफल भएको छ ।

दूतावासका अनुसार चीनले एक चीन नीतिप्रति नेपाल निरन्तर अडिग रहेको र शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका सिद्धान्तप्रति चीनको सम्मान रहेको धारणा बैठकमा दोहोर्याइएको छ । परराष्ट्र सचिव पौड्यालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति अहस्तक्षेपको सम्मान गर्ने चिनियाँ नीतिको प्रशंसा गर्नुभएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

टिप्पणीहरू