मीटरब्याज पीडितको रत्नपार्कमा बैठक, वार्ता टोलि घोषणा

मीटरब्याज  पीडितको रत्नपार्कमा बैठक, वार्ता टोलि घोषणा

आन्दोलनरत मीटरब्याज पीडितहरुले सरकारसँग वार्ता गर्न समिति गठन गरेका छन् । आफ्ना मागबारे गृह मन्त्रालयको टोलीसँग छलफल गर्न पीडितहरुले १९ सदस्यीय वार्ता टोली गठन गरेका हुन् । 

रत्नपार्कको शान्तिबाटिकामा आज बसेको मीटर ब्याज संघर्ष समितिको बैठकले सरकारसँग वार्ता गर्ने निर्णय गर्दै वार्ता समिति गठन गरेको हो । समितिमा संघर्ष समितिका प्रवक्ता निर्ग नवीन, सरस्वती मिश्र, पुनम महत्तो, शिवशंकर महत्तो, रुकमणि चौधरी, परशुराम चौधरीलगायत छन्। 

गृह मन्त्रालयले गत शुक्रबार नै सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीमा सहसचिव कोइराला, मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली छन् ।

शान्तिवाटिकामा बस्दै आएका मीटरब्याज पीडितहरु चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । यसअघि महोत्तरीबाट पैदल यात्रा गरी काठमाडौँमा आन्दोलन गरेका मीटरब्याज पीडितको एक टोलीसँग सरकारले १८ चैतमा पाँचबुँदे सहमति गरेको थियो । त्यो टोली फर्किएलगत्तै काठमाडौँ आइपुगेला पीडितहरुले चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । 

अघिल्लो टोलीसँग गरेको पाँच बुँदे सहमतिलाई अपूरो भन्दै उनीहरुले थप पाँच वटा माग राखेका छन् । सरकारले उनीहरुको माग सम्बोधन गर्न वार्ता समिति बनाएको हो ।
 

टिप्पणीहरू