समयमै तलब नपाउँदा थाहाका श्रमजीवी पत्रकार मर्कामा

समयमै तलब नपाउँदा थाहाका श्रमजीवी पत्रकार मर्कामा

थाहा खबर प्रालिद्धारा सञ्चालित थाहाखबर अनलाइन र थाहा रेडियोको पत्रकारहरु नियमित रुपमा तलब नपाउँदा मर्कामा परेका छन् । चर्चित व्यापारी अजय सुमार्गीले आफ्ना मिडियामा कार्यरत कर्मचारी तथा श्रमजीवी पत्रकारलाई नियमित रुपमा तलब नदिँदा उनीहरुलाई दैनिक खर्च धान्न पनि मुश्किल परेको छ । 

विगत तीन महिनादेखि पत्रकारहरु तलबबिना नै काम गरिरहेका छन् । चैत सकिन लागिसक्दा पनि त्यहाँका पत्रकारहरुले माघ र फागुन महिनाकै तलब पाउन सकेका छैनन् । कोरोना महामारीअघि नियमित रुपमा तलब दिँदै आएको थाहाका सञ्चालकको पारा देखेर कर्मचारीहरु चकित बनेका छन् । 

यता, थाहाकी अध्यक्ष अस्मिता सुमार्गीसमेत यस विषयमा मौन छिन् । पत्रकारलाई तलब दिने विषयमा उनले चासो देखाएकी छैनन् । मिडियाका मालिक सुमार्गी भने योगा, ध्यान, व्यायाम, प्राणायामदेखि अनुलोमविलोम र कपालभातीमा व्यस्त छन् । तपस्याका नाममा मोबाइल अफ गरेर सुमार्गी सम्पर्कविहिन बन्दा त्यहाँका पत्रकारहरुलाई समस्या भएको छ । 

तलब नपाएपछि थाहा छोडेका एक पत्रकारले आफ्नो पाँच महिनाको पारिश्रमिक लिन बाँकी रहेको बताए । पटकपटक तलब माग्दापनि केही नलागेपछि अधिकांश पूराना पत्रकारले थाहा छोडेको उनको भनाइ छ । 

‘बारम्बार तलबको विषयमा कुरा गर्यौं तर केही लागेन् । तलब दिन चासो नदेखाएपछि पूराना लेखक सबैले छोड्यौं’, उनले भने । थाहाका पूर्व प्रधानसम्पादक तीर्थ कोइरालाले समेत तलब नपाएपछि राजीनामा दिएको चर्चा चलेको थियो ।

यद्यपि, उनले थाहाबाट राजीनामा दिनुको कारण तलब नभएको बताएका छन् । थाहाका एक डेस्क सम्पादकले दुई महिनाको तलब पाउन बाँकी रहेको जानकारी दिए । माघ र फागुनको तलब अहिलेसम्म पनि नपाएको उनी गुनासो गर्छन् । 

‘पहिलेपहिले नियमित रुपमा तलब दिने गरिएको थियो । कोरोनाको समयमा पनि पूरै तलब दिनुभएकै हो । तर, केही समययता यस्तो भइरहेको छ । दुईतीन महिनामा बल्ल तलब पाइन्छ’, उनले भने,‘माघ र फागुनको तलब पाएका छैनौं । पाइएला भन्ने आशमा काम गरिरहेका छौं ।’ समयमै तलब नपाउँदा खर्च चलाउन भने अलिक समस्या हुने गरेको उनी बताउँछन् ।

थाहा अनलाइन र रेडियोमा गरेर ४० जना श्रमजीवी पत्रकार तथा कर्मचारी कार्यरत छन् । स्रोतकाअनुसार सुमार्गीले पूरै घाटा सहेर थाहा अनलाइन र रेडियो सञ्चालन गरिरहेका छन् । २०६२ र ६३ को परिवर्तनपछि छोटो समयमा ठूलो आर्थिक जोहो गरेका व्यवसायी सुमार्गीको सबै व्यवसाय र कारोबार ठप्प रहेको बताइन्छ ।

टिप्पणीहरू