उपत्यकामा जताततै असुरक्षित पेट्रोल पम्प, कुनैबेला बमगोला हुनसक्ने चेतावनी

उपत्यकामा जताततै असुरक्षित पेट्रोल पम्प, कुनैबेला बमगोला हुनसक्ने चेतावनी

काठमाडौं उपत्यकाभित्र सञ्चालित अधिकांश पेट्रोल पम्प मापदण्डविपरीतका छन् । सरकारको नीति नियमलाई मिचेर घनाबस्तीको बीचमा पेट्रोल पम्प सञ्चालन गर्न दिइएको छ । यसबाट कुनै दिन पेट्रोल पम्पहरु ‘बमगोला’ साबित हुनसक्ने आशंका पनि यदाकदा गरिन्छ ।

त्यस्ता पेट्रोल पम्पबाट एकातिर दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतिर ट्राफिक व्यवस्थापनमा उत्तिकै सास्ती पुगेको छ । साँघुरा सडक छेउछाउ पेट्रोल पम्प सञ्चालन गर्न दिँदा ट्राफिक जाम बढेको बताइन्छ । इन्धन भर्ने बेलामा सवारीको लाइन सडकसम्मै पुगेर अस्तव्यस्त बनाइदिने गरेको छ ।

पेट्रोल पम्प बाहिर पैदलयात्रीलाई हिँड्ने ठाउँसमेत हुँदैन । घनाबस्तीबीच थोरै जग्गामा पेट्रोल पम्प खोल्दा वरपरका बस्ती उत्तिकै जोखिममा छन् । कुन बेला कुन रुपको क्षति हुने हो ? भन्ने त्रासमा बस्नुपर्ने बाध्यता उनीहरुलाई छ । 

पम्पले न्यूनतम सुरक्षा मापदण्डसमेत पूरा नगरेको सरकारी अधिकृतहरुको भनाइ छ । आगलागी भएको अवस्थामा वरपरका सबै घर ध्वस्त हुने निश्चित छ । तीनकुनेमा बसोबास गर्दै आएकी सीता गुरुङ्ग पेट्रोल पम्पलाई खुल्ला ठाँउमा सार्नुपर्ने बताउँछिन् । पम्पका कारण धेरै जोखिम बढेको उनको गुनासो छ । ‘उपत्यकाभित्र घनाबस्तीमा जथाभावी पेट्रोल पम्प सञ्चालन भएका छन् । तर, ती पम्पहरुले न सरकारको मापदण्ड पालना गरेका छन् न कानून,’ उनले भनिन्, ‘पम्प खोलेर कमाउने बेला उनीहरु कमाउँछन्, दुःखचाँहि हामीलाई । सम्बन्धित निकायको पनि यसतर्फ ध्यान गएको छैन ।’

उनीझैँ अन्य धेरैले पनि पेट्रोल पम्प धेरै खतरा भएको बताउँदै उपत्यकाको सुरक्षामा पम्पले चुनौती थपिएको गुनासो गरेका छन् । पम्पको छेउछाउ घर भएकालाई सँधै पीडा हुने उनीहरुको भनाइ  छ । एकातिर इन्धन भर्न आउने सवारीको ‘हर्न’ का कारण उनीहरु प्रताडित छन् । अर्कोतिर रातभर राम्रोसँग निदाउन पनि सक्दैनन् ।

पेट्रोल पम्प नजिकैका एक जना घरधनी सुदर्शन आचार्यले जनआस्थासँग कुराकानी गर्दै पम्पले आगलागी र सवारी दुर्घटनाको जोखिम बढेको गुनासो गरे । पम्पहरुले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्व सावधानी नअपनाएको उनको भनाइ छ । 

‘पेट्रोल पम्पबाट हुनसक्ने क्षति ठूलै छ तर यसलाई नजरअन्दाज गरिएको छ । कारणवशः आगलागी भएमा सबै सखाप हुन्छ । तर पनि सरकारले किन लापरवाही गरिरहेको हो ? सवारी साधन भएपछि पम्प चाहियो नै । तर, मापदण्डभित्र रहेर सञ्चालन गर्नुपर्यो भन्ने मेरो धारणा हो । दुर्घटनाबाट जोगिनका लागि पहिल्यै सावधानी अपनाउनुपर्यो’, उनले भने । 

नेपाल आयल निगमको ‘बिक्रेता विनियमावली २०६५’ मा साधारण बिक्रेताका लागि २२ वटा मापदण्ड बनाइएको छ । विडम्बना, तीमध्ये कुनै पनि मापदण्ड पेट्रोल पम्पमा पालना भएको पाँइदैन । मापदण्डबमोजिम नगरपालिकाभित्र पम्प सञ्चालन गर्न कम्तीमा एक रोपनी आठ आना वा दुई कठ्ठा जमिन हुनुपर्छ । साथै, पम्पको अगाडिको मोहोडा २० मिटर र चौडाई १२ मिटर हुनुपर्ने स्पष्ट पारिएको छ । 

त्यस्तै, बिक्रीस्थलमा सडक आरसीसी वा ढुंगा छापेको संरचना बनाउन पाईंदैन । पक्की कम्पाउण्डले बिक्रीस्थल घेरिएको हुनुपर्ने छ भने पर्खालमा काँडेतार अनिवार्य गरिएको छ । अग्रिम सुरक्षाको लागि एक हजार लिटरको पानी ट्याङ्की, दुई थान १० किलो क्षमताका फायर एक्टिङ्गग्विसर र प्रशस्त मात्रामा बालुवा पम्पमा हुनुपर्ने विनियावलीमा उल्लेख छ । 

तर, अधिकांश पम्पले तोकिएको उक्त मापदण्ड पालना गरेका छैनन् । कतिपय स्थानमा थोरै जग्गामा मात्र नभई कोठा भाडामा लिएर समेत पेट्रोल पम्प सञ्चालन भएको देखिएको छ । बागलुङमा यसअघि आवासीय घरमा पेट्रोल पम्प सञ्चालन गरिएको घटनाले खुब चर्चा पाएको थियो । 

बागलुङ नगरपालिकाको बजार क्षेत्रमा रहेको आवासीय घरमा न्यू धौलागिरी इन्टरप्राइजेज पम्प खोलिएको थियो । माथिल्लो तलामा होटल र तल्लो तलामा पम्प सञ्चालन गर्न दिएपछि चर्को आलोचना भएको हो ।

काठमाडौं उपत्यका र यहाँका बासिन्दालाई पम्पले सँधै डरलाग्दो वातावरणमा बाँच्न विवश बनाएको छ । जुनसुकै बेला पनि विपतको कारण बन्न सक्नेतर्फ विज्ञहरुले औंल्याएका छन् । नेपाल आयल निगमका अनुसार राजधानीमा ३३ नमुना बिक्रेता छन् । त्यस्तै, एक हजार ५४७ साधारण र १३७ ‘प्याक्ड’ बिक्रेता छन् । 

मुलुकभर एक हजार ७१७ वटा पेट्रोल पम्प दर्ता रहेको निगमले जनाएको छ । बागमती प्रदेशमा ३२४ वटा दर्ता छन् । दर्ता नगरी सञ्चालन भएकाबारे कुनै पनि निकायले बताउन सकेका छैनन् । २०७६ माघ २० गते सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रमअन्तर्गत उपत्यकाका सडक छेउमा रहेका १८ वटा पम्प हटाउने निर्णय गरिएको थियो । 

त्यतिखेर बालाजुको कोत थुकु पेट्रोल पम्प, थापाथलीको कनक पेट्रोल पम्प, कालीमाटीको मायाराम भोलाराम पेट्रोल पम्प, थापाथलीको बाबा पेट्रोल पम्प हटाउने भनिएको थियो । कलंकीको श्यामा पेट्रोल पम्प, त्रिशूल पेट्रोल पम्प, भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वरको कामाख्या पेट्रोल पम्प, जुबी पेट्रोल पम्प, बौद्धको बराल पेट्रोल पम्प र सीता पेट्रोल पम्प पनि हटाउने सूचीमा परेको थियो । 

तर, यी पम्प काठमाडौंबाट कागजमा अन्य स्थानमा स्थानान्तरण मात्र गरिएको निगमका एक कर्मचारीले बताए । उनकाअनुसार अहिले पनि ती पम्पहरु पुरानै स्थानमा सञ्चालित छन् । राजनीतिक पार्टीको आड भएकाहरुले पेट्रोल पम्प सञ्चालन गर्दा आफूहरुले केही गर्न नसकेको उनको दुःखेसो छ । उनी भन्छन्, ‘अधिकांश पेट्रोल पम्प सरकारको नीतिनियम विपरित चलेको छ ।’ 

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले मापदण्डविपरीत चलेका पम्पलाई कारबाही गर्दै आएको दाबी गरे । उनले भने, ‘अहिलेपनि अधिकांश पेट्रोल पम्प सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा छन् । त्यस्ता पम्पलाई हामीले अनुगमन गरी कारबाही गर्दै आएका छौँ ।’
 

टिप्पणीहरू