सांसद ढाकाविरुद्ध अख्तियार र प्रहरीमा उजुरी हालिनेछ : रवि लामिछाने

सांसद ढाकाविरुद्ध अख्तियार र प्रहरीमा उजुरी हालिनेछ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नै पार्टीका सांसद डा ढाकाकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीमा उजुरी गर्ने जानकारी दिएका छन् । चुनावी प्रचारको क्रममा आज बारा निर्वाचन क्षेत्र नमबर २ पुगेका लामिछानेले श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयम्ले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका हुन् ।

बाराको गढीमाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले भने, ‘७२ घण्टाको अल्टिमेटम दिइएको छ । थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिइन्छ ।’

उनले पार्टीभित्र छानबिन भइरहेको र त्यसको निचोडपछि सांसद श्रेष्ठलाई कानुनी कारबाहीमा ल्याउन पनि उक्त विषयलाई प्रहरी र अख्तियारमा बुझाउनुपर्ने अवस्था रहेको खुलाए । सांसद श्रेष्ठको मेडिकल माफियाको रुपमा परिचित दुर्गा प्रसाईं उर्फ मार्सीसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको छ । अडियोमा उनले पार्टी कोषको निम्ति उक्त रकम मागिएको बताएका छन् ।

टिप्पणीहरू