सबै श्रेणीहरू

बालेनको कदमप्रति सरकार गम्भीर, उपयुक्त कदम चाल्ने क्याबिनेटको निर्णय

काठमाडौँको फोहोर व्यवस्थापन सन्दर्भमा काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले गत शुक्रबार दिएको सार्वजनिक अभिव्यक्तिलाई सरकारले गम्भीरतापूर्वक लिएको छ । आज बसेको क्याबिनेट बैठकले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने मेयरको कदमलाई गम्भीरतापूर्वक लिने र आवश्यक पहल अघि बढाउने निर्णय गरेको बताइएको छ । 

मेयर बालेन्द्रले फेसबुकमा लेख्दै संघीय सरकारले असहयोग गरेका कारण सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने चेतावनी दिएका थिए । उनले नेताहरुलाई डम्पिङ साइटमा नफालेसम्म काठमाडौँ सफा गर्न नसकिने विवादास्पद अभिव्यक्ति दिएपछि तीन दिनदेखि मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति भवन शीतल निवासको फोहोर उठेको छैन । 

क्याबिनेट बैठकले मेयर बालेन्द्रको उक्त कदम काठमाडौं उपत्यकाको फोहर काठमाडौं महानगर पालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत रहेको ठहर गर्दै यसलाई गम्भीरताका साथ लिएको हो । आजैको बैठकले आवश्यक पहल अघि बढाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकले आयातित र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम् सीमा निर्धारण गर्न मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गरेको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलाई नियुक्त गर्ने क्याबिनेटको अर्को निर्णय पनि छ ।