कमरेड र जर्नेलहरू किन पुगे कोलम्बिया ?

कमरेड र जर्नेलहरू किन पुगे कोलम्बिया ?

नेपालको शान्तिप्रक्रिया जटिल मोडमा छ । सुल्झाउने अनेकन विधिबारे चर्चा हुन्छ, तर सुल्झिँदैन । यही बेला काठमाडौंस्थित स्वीस दूतावासले केही वामपन्थी नेतालाई दक्षिण अमेरिकी मुलुक कोलम्बिया पुर्‍याएको छ ।

‘रिभोलुसनरी आर्मड फोर्सेज अफ कोलम्बिया’ (फार्क) समूहले करिब ६ दशकसम्म सशस्त्र गुरिल्ला युद्ध सञ्चालन गर्दा तीन लाख हाराहारीमा मानवीय क्षति व्यहोरेको देश हो त्यो । युद्धकै कारण ५४ हजार ८ सय ७१ प्रजातिका जडिबुटी पाइने, विश्वको दोस्रो सबैभन्दा जैविक विविधता भएको राष्ट्र थिलथिलो भएको थियो । त्यहाँको सरकार र एक विद्रोही समूहबीच क्युवाको हवानामा सन् २०१२ देखि शुरु भएको शान्ति वार्ता सफल भएपछि गत आठ वर्षमा कोलम्बियामा तीव्र आर्थिक विकासको युग शुरु भएको छ । त्यहाँ ५२ वर्ष लामो युद्धको नेतृत्व गर्ने कमाण्डर जुआँ म्यानुएल सान्तोस शान्ति प्रक्रियामा आएपछि राष्ट्रपतिमात्रै भएनन्, त्यही वर्ष नोबेल शान्ति पुरस्कार पनि पाए ।

अचम्म के छ भने, नेपालमा जम्मा १० वर्ष सशस्त्र द्वन्द्व चल्यो, १७ हजार मारिए । ती घटनाहरूको समाधान अझै निस्किएको छैन । कोलम्बियामा करिव तीन लाखले ज्यान गुमाए । तर, तीन–चार वटा मुद्दामात्रै परे । यस्तो कसरी सम्भव हुन्छ ? यही कुराको अध्ययन गर्न पाँच दिने कार्यक्रमसहित नेपालका कम्युनिष्टहरूको त्यता लर्को लागेको हो । कानुन व्यवसायी पृष्ठभूमिका माओवादी नेता खिमलाल देवकोटा शुरुमा त्यहाँ पुगे, त्यसपछि एमाले नेताहरू सुवास नेम्वाङ र प्रदीप ज्ञवाली, माओवादीका हितराज पाण्डे, कांग्रेसका रमेश लेखक, राधेश्याम अधिकारी, पूर्व तीनतारे जर्नेलहरू सिबी गुरुङ र पवन पाण्डेले अध्ययन भ्रमण गर्दै छन् ।

नेपालको शान्तिप्रक्रियामा सशस्त्र द्वन्द्वकालीन घटनालाई दक्षिण अफ्रिकाको शैलीमा समाधान गर्ने मोडल ल्याइयो । त्यो भनेको आममाफी (एमनेष्टी) को शैली थियो । जसलाई ‘फर्गेट एण्ड फर्गेट मोडल’ भनिन्छ । तर, कोलम्बियाको शान्तिप्रक्रिया उन्नत खालको (हाइब्रिड) मोडल हो । त्यहाँ ‘जस्टिस पार्ट’ भनेर १२–१५ जनाको प्यानल अफ जजेज (न्यायाधीशहरूको समूह) खडा गरियो । मुद्दा वा सरोकार त्यहीँ राख्ने, त्यसको बहस र समीक्षा पनि त्यहीँ हुने विधि हो त्यो । मुद्दा एउटा विद्रोहीको, अर्को सरकारको गरेर बराबरी चलाइयो । त्यसपछि पुनःनिर्माणमा धेरै रकम खर्च भयो । त्यहाँको शान्तिप्रक्रिया अमेरिकी प्रायोजनको थियो । त्यही कारण विद्रोही नेतालाई नोबेल पुरस्कार पनि दिइयो ।

अमेरिकाको स्वार्थ थियो, त्यहाँको जडिबुटी र खनिजमाथि । गाँजाको अत्यधिक उत्पादन, प्रशोधन र निर्यात गर्ने मुलुकका रुपमा कोलम्बिया कहलिन्छ । त्यसबाट अमेरिकाले प्रत्यक्ष लाभ लिइरहेकै छ ।

टिप्पणीहरू