युद्ध छल्न टापुतिर

युद्ध छल्न टापुतिर

इण्डोनेसियाको बाली–टापू रूसी र युक्रेनी नागरिकहरूका लागि युद्ध छल्ने आश्रयस्थल बनेको छ । हजारौं युक्रेनी रूसी बमबारी र सेनामा भर्ती हुनबाट बच्न बाली सरेका छन् । वास्तवमा इण्डोनेसियाले दुवै देशका लागि भिसा अन अराइभलको सुविधा दिएको छ । तर पर्यटकको भीडमा अभ्यस्त बाली विदेशीहरूको चटक देखेर हैरान छ ।

केही दिनअघि एक रुसी नागरिक पवित्र मानिने सात वर्ष पुरानो रुखमा चढे । त्यो पनि कपडाबिनै । बालीमा आधा लुगा लगाएर सडकमा हिँड्ने रुसी नागरिक देखिनु सामान्यजस्तै छ । बढ्दो दुईपांग्रे सवारी दुर्घटनाका लागि रुसी र युक्रेनी पर्यटकलाई बालीको स्थानीय सरकारले मुख्य जिम्मेवार ठहर्‍याएको छ ।

छोटो अवधिको पर्यटक भिसामा आएका तिनले जागिरका लागि आवेदन दिन थालेका छन् । बालीका गभर्नर वायन कोस्टरले इन्डोनेसियाली सरकारलाई रुस र युक्रेनलाई दिइने भिसा अन अराइभल सुविधा अन्त्य गर्न आग्रह गरिएको बताएका छन् ।

बाली टापुमा पर्यटकहरूको भीड कुनै नौलो होइन । विगतमा पनि पर्यटकहरू उग्र बन्दा कैयौँ घटना भएका छन् । तर पछिल्लो समय सामाजिक घटनामा कमी आएको अधिकारीहरू बताउँछन् । रुसी नागरिकले बाटोमा हिँड्दा–हिँड्दै पर्खाल र निजी घरका भित्ता कोरिरहेका छन् । अनुमतिबिना युद्धविरोधी चित्र बनाएको देख्दा आक्रोशित हुन्छन् । तर केही गर्न सक्दैनन् । एक वर्षयता यस्ता घटनाको संख्या धेरै गुणाले बढेको स्थानीय अधिकारी बताउँछन् ।

३३ वर्षीय टुर गाइड आइ व्यान परडिका भन्छिन्, ‘उनी (रुसी–युक्रेनी)हरू आफ्नै संसारमा बाँचिरहेका छन् । उनीहरू अरू कसैको वास्ता गर्दैनन् । आधा नाङ्गै भएर सडकमा हिँड्नु सामान्य बनिसक्यो । जबकि हामी देख्न पनि लाज मान्छौँ ।’ बालीका मानिसहरू पहिले रूस र युक्रेनका नागरिकप्रति सहानुभूति राख्थे । तर अहिले उग्र बन्दै जाँदा दिक्क बनिसकेका छन् । कतिपय रुसी नागरिकले बालीमा आफ्नै कार र घर भाडाको व्यवसाय शुरु गरेका छन् ।

पर्यटक भिसामा आएका आगन्तुकहरूका लागि त्यसो गर्नु इण्डोनेसियाली कानुनको उल्लंघन हो । लक्जरी जुत्ता ब्राण्डका संस्थापक निलुह जेलान्टिक भन्छन्, ‘हामीले उनीहरूका लागि घर र हृदय खोल्यौं । तर उनीहरूले हाम्रो उदारताको गलत फाइदा उठाइरहेका छन् ।’

पछिल्लो समय ५८ हजार रुसी र ७ हजार युक्रेनी नागरिक बाली पुगेका छन् । यसवर्षको जनवरीमा मात्रै २२ हजार ५ सय रुसी नागरिक बाली पुगेका थिए । इन्डोनेसियाले ८५ देशलाई भिसा अन अराइभल सुविधा दिएको छ । रुस र युक्रेनलाई मे २०२२ मा मात्र यसमा समावेश गरिएको थियो । इण्डोनेसियामा दुई पांग्रे यातायातको मुख्य साधन हो । केही वर्षयता दुर्घटना निकै बढेको छ । बालीले विदेशी नागरिकलाई दुई पांग्र्रे सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ ।

बालीमा अधिकांश रुसी नागरिक गाउँ तहबाट आएको रुसी डिजिटल आर्टिस्ट ग्रशान्ति होलोन बताउँछन् । बालीको पर्यटन एजेन्सीले अहिले अंग्रेजी, रुसी र फ्रेञ्च भाषामा साइनबोर्ड राख्न थालेको छ । यी साइनबोर्डमा विदेशीलाई राम्रो व्यवहार गर्न अपील गरिएको छ । कतिपय बोर्डमा सामाजिक सञ्जालमा अश्लील तस्बिर पोस्ट नगर्न लेखिएको छ । बिकिनीजस्ता कपडाहरू सही ठाउँमा लगाउनुपर्ने स्थानीयहरू बताउँछन् । विदेशीहरूले नियम उल्लंघन गरेमा जरिवाना हुने र देश निकाला गर्न सकिनेसमेत निर्देशन दिइएको छ ।

अहिले बालीमा चर्को बहस चलिरहेको छ, गभर्नरले रुसी र युक्रेनी नागरिकलाई एउटै समूहमा राखेकोमा इण्डोनेसियाका लागि युक्रेनका राजदूत भासिल हमियानिनले आपत्ति जनाएका छन् । उनले गभर्नरलाई भेटेर इण्डोनेसिया सरकारको तथ्यांकअनुसार गत साता बालीमा ५६ वटा दुर्घटना रुसी नागरिकले गराएको स्मरण गराएका छन् । उनका अनुसार आफ्ना नागरिक युद्धका कारण बालीमा बस्न बाध्य छन्, तर प्रायः आफ्नो देश फर्कन चाहन्छन् ।

सामाजिक सञ्जालमा भेटिएको भिडियोमा एक रुसी युवा बालीको पवित्र पहाडमा लुगा लगाउँदै थिए भने अर्को भिडियोमा कथित रुसी युवाले स्थानीय सुरक्षा गार्डसँग झडप गरेका थिए । पवित्र पर्वतमा लुगा लगाउने रुसी युवा युरी चिलिकिनले गत बिहीबार माफी मागेका छन् । गत सेप्टेम्बरमा मस्कोबाट बाली गएकी ३३ वर्षीया इञ्जिनियर एलेना पोज्न्याकोभाले रुसी नागरिकको असभ्यता देखेर आफूलाई लाज लागेको बताइन् ।

एलेना पति र छोरीसँग बस्छिन् । उनले रुसी नागरिकको अभद्र व्यवहार धेरै पटक देखेको बताइन् । तर, स्थानीयको आक्रोशका बाबजुद पनि उनीहरूको आतिथ्यमा कुनै फरक नपाएको बताउँछिन् । इण्डोनेसियाको कानुन र मानव अधिकार मन्त्रालयका अध्यागमन महानिर्देशक सिल्मी करिमले बालीका गभर्नरले भिसा अन अराइभल अन्त्य गर्न गरेको अनुरोधलाई अझै पनि विचार गरिँदै आएको बताइन् । थाइल्याण्डको फुकेट–टापुमा पनि थुप्रै रुसी पर्यटक छन् ।
 

टिप्पणीहरू