‘राजीनामा दे’ भन्दै विद्यार्थीहरु शिक्षा मन्त्रालयमा

‘राजीनामा दे’ भन्दै विद्यार्थीहरु शिक्षा मन्त्रालयमा

विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले आफूहरु अनुतीर्ण हुनुमा त्रिभुवन विश्वविद्यालय पनि दोषी रहेको बताएका छन् । 

एमबीबीएस र बिडिएसको दोस्रो वर्ष अध्ययन गरिरहेका अधिकांश विद्यार्थी फेल भएपछि उनीहरुले त्यसमा आफ्नो मात्रै नभई त्रिविको पनि कमीकमजोरी रहेको आरोप लगाएका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले लिने परीक्षा प्रणाली आफैंमा अवैज्ञानिक, असान्दर्भिक एवम् अनियमित रहेको विद्यार्थीहरुको भनाइ छ । 

आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले कोरोनाको विषम परिस्थितिमा मानसिक त्रास झेलिरहेका विद्यार्थीलाई जबरजस्ती परीक्षामा उपस्थित हुन लगाउनु गलत भएको बताएका छन् । त्यस्तै, मौका परीक्षाको माग गर्दै चरणबद्ध रुपमा आन्दोलित विद्यार्थीमाथि प्रहरी बलको प्रयोग गरेर संस्थानले सीमा पार गरेको उनीहरुको ठहर छ । 

‘त्रिविअन्तर्गत विभिन्न मेडिकल कलेजमा एमबीबीएस–बीडीएस अध्ययन गरी दोस्रो वर्षको परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरु चरणबद्ध रुपमा मौका परीक्षाको माग गर्दै आन्दोलनमा उत्रिएको कुरा विदितै छ’, पत्रमा भनिएको छ, ‘संस्थानले आफ्ना गल्ती ढाकछोप गरी विद्यार्थी आन्दोलन दमन गर्न प्रहरी बलको प्रयोग गर्दै विद्यार्थी कुटाउनेसम्मको अराजक गतिविधि देखाएर संस्थानले आफ्नो सीमारेखा पार गरिसकेको छ ।’
विद्यार्थी संगठन र संस्थानबीच मौका परीक्षा गराउने विषयमा यसअघि सम्झौता भएको थियो । तर, महिनौं बितिसक्दा पनि संस्थानले परीक्षा सञ्चालन गर्न नसकेको उनीहरुको बताउँछन् । 

उनीहरुले संस्थानका पदाधिकारीले तत्काल राजीनामा दिनुपर्ने र विद्यार्थीबाट लिइएको अव्यवहारिक वार्षिक शुल्क फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

टिप्पणीहरू