रवि लक्षित पौडेलको टिप्पणी - गोजीमा नगरिकता नहुनेको गफमा जनता भुले
नेपाली काँग्रेसका नेता तथा ४ मंसिरको निर्वाचनमा चितवन-१ का उम्मेदवार विश्व पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले 'स्टन्ट'को राजनीति गरेर जनतालाई भ्रम बाँडेको बताएका छन् । लामिछानेको नाम उल्लेख नगरी उनले गोजीमा नागरिकता नहुनेको गफमा जनता भुलेको पनि टिप्पणी गरे ।
'हामीले हार्दा कस्ता ‘क्षमतावान’ ले जिते, जगजाहेर छ । जसको गोजिमा नागरिकता छैन, उनैको देश बनाउने गफमा हाम्रा जनता भुले’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्झनु हुन्छ, आफ्नो जनसम्पर्क अफिसमा सिइओ राख्ने नौटंकी पानी ओसार्ने नौटंकी ? कोही स्थानीयले सिइओको जागिर पाए ? एयरपोर्ट गएर कसैलाई ल्याइयो ?’
नेता पौडेलले स्टन्टबाजभन्दा जनताको सहज पहुँचमा रहने स्थानीय उम्मेदवारलाई जिताउन चितवन-२ का मतदातालाई आग्रह पनि गरेका छन् । यसपाली जनताको समस्यालाई ‘स्टन्ट’को विषय बनाउनेहरूलाई जनताले पराजित गरेर सबक सिकाउनुपर्ने उनको भनाई छ ।
‘मेरा मित्र जितनारायण श्रेष्ठजी सानैदेखि चितवनमा बस्नुभयो, मर्दापर्दा सबैको साथी बन्नुभयो, स्थानीयको सुख दु:खमा साथ दिनुभयो । सबैलाई खुशी बनाउन खोज्नुभयो । गाउँमा हुर्केको साधारण मान्छेको छोरो सानैमा कांग्रेस जस्तो पार्टीको जिल्ला सभापति बन्नुभयो । भोलि चाहिँदा उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ, गाली खान ताली खान सबैको लागि उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ', उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जीतनारायण स्टन्टवाज हैनन, यी अगाडि पछाडि क्यामेरा लगाएर स्टन्ट गर्दैनन्, अध्यारो कुनामा साइबर सेना राखेर आक्रमण गर्दैनन् ।'
राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर ४ मंसिरमा चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका थिए ।
टिप्पणीहरू