ड्राइभर छतबाट खसेको घटनामा रविले मुख खोले : राजनीतिकरण नगर्नु होला

ड्राइभर छतबाट खसेको घटनामा रविले मुख खोले : राजनीतिकरण नगर्नु होला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले आफ्ना सवारी चालक छतबाट लडेर घाइते भएको घटनालाई राजनीतिकरण गरिएको भन्दै असन्तुष्टी जनाएका छन् । 

घटनाले आफूलाई पीडा दिएको उल्लेख गर्दै उनले बोल्ने शब्दसमेत नभएको बताएका छन् । घटना भएको झन्डै १२ घण्टापछि उनले फेसबुकमा लेखेका छन्, ‘म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला । सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला ।’

घटनाको प्रहरीले अनुसन्धान गरिरहेको र घाइतेको अवस्था सुधारोन्मुख रहेको पनि लामिछानेले जानकारी गराएका छन् । ‘आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छतबाट खसेर दुर्घटनामा पर्नुभयो । पुरानो मेडिकल कलेजमा उहाँ उपचाररत हुनुहुन्छ । बिहानैदेखि निरन्तर र भरखरै पनि मैले चिकित्सकसँग परामर्श गरेअनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको छ, स्थिर छ । प्रहरी पनि अनुसन्धानमा छ’, उनले लेखेका छन् । 

चितवन–२ को चुनावी प्रचारमा रहेका लामिछानेका चालक सिन्धुपाल्चोकको बाह्रबिसेका शम्भु थापा आज बिहान घरको छतबाट खसेर घाइते भएका हुन् । बिहान ४ बजे चितवनस्थित लामिछाने निवासको छतबाट खसेका उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

थापा घरको छतबाट खसेको सिसिटिभीमा देखिए पनि यो आत्महत्या वा हत्या प्रयास भन्नेबारे खुलिसकेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

तनहुँको चुनावी कार्यक्रमबाट लामिछानेलाई लिएर फर्किएका र एउटै घरमा सुतेका थापा एकाबिहानै छतबाट खसेको घटनालाई कतिपयले नियोजित हत्या हुनसक्ने आशंका गरेपछि लामिछानेले फेसबुकमा लेखेर प्रतिवाद गरेका हुन् ।

टिप्पणीहरू