नेपाल वायुसेवाले दुर्गम क्षेत्रको उडानमा तीन वटा जहाज थप्ने
नेपाल वायुसेवा निगमले तीन वटा साना जहाज खरिद गर्ने भएको छ । दुर्गम क्षेत्रका आमजनताको मागलाई सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन निगमले तीन वटा साना जहाज खरिद गर्न लागेको बताइएको छ ।
यसका लागि निगम सञ्चालक समितिले सञ्चालक तथा वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिले खरिद प्रक्रिया अघि बढाउने कार्यसमेत थालेको छ । निगमले आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार जहाज खरिद गर्न लागिएको उपनिर्देशक एवम् प्रवक्ता रमेश पौडेलले बताए ।
दुर्गम क्षेत्रलाई लक्षित गरेर नयाँ जहाज खरिद गर्न लागिएको उल्लेख गर्दै उनले यात्रुहरुको सेवा र सुविधाप्रति निगम सदैव प्रतिबद्ध रहने बताएका छन् ।
‘यी जहाज निगमले आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार पारदर्शी रुपले निर्माण कम्पनीसँग खरिद गर्न लागेको हो । निगमले नयाँ तीन वटा जहाज खरिद गरेपछि नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सकिने छ’, जारी विज्ञप्तिमा उल्लेख छ ।
यसबाट पर्यटन प्रवद्र्धन हुने र बजार सन्तुलित भएपछि हवाई भाडादर केही हदसम्म सुपथ हुने विश्वास निगमको छ ।
टिप्पणीहरू