उखरमाउलो गर्मीमा बाँके कारागार अस्तव्यस्त
-नमस्कार शाह
नेपालगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदी राखिँदा व्यवस्थापनमा समस्या भइरहेको छ । तीन सय ५० जना क्षमताको बाँके जिल्ला कारागारमा हाल ८३९ कैदीबन्दी छन् ।
महिला थुनुवालाई बर्दिया स्थानान्तरण गरेर दुईवटै ब्लकमा पुरुष कैदीबन्दी मात्र राखिएको बाँके कारागारको ब्लक ‘ए’ मा ६१७ जना र ब्लक ‘बि’ मा २३२ कैदीबन्दी राखिएको छ । जिल्लाको नौवस्तामा क्षेत्रीय कारागार सञ्चालन नहुँदा थप समस्या उत्पन्न भएको छ ।
ब्लक ‘ए’ २५० क्षमताको हो भने ब्लक ‘बि’ १०० क्षमताको हो । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा थुनुवाहरु कोचाकोचको स्थितिमा बस्न बाध्य छन् । तर तीन हजार बन्दीको क्षमतासहित बाँकेको नौबस्तामा ९ बिगाह क्षेत्रफलमा बनेको सुविधासम्पन्न क्षेत्रीय कारागार सञ्चालनमा आउन सकेको छैन ।
सरकारी अधिकारीहरुले क्षेत्रीय कारागार छिट्टै सञ्चालनमा आउने बताए पनि अर्थ मन्त्रालयले बजेट रोकिदिएका कारण क्षेत्रीय कारागारको सञ्चालनबारे अनिश्चितता झन् बढेको हो । कारागारका जेलर अजुंनजंग शाहले अर्थ मन्त्रालयले बजेट रोकेकाले कर्मचारी व्यवस्थापन नहुँदा क्षेत्रीय कारागार सञ्चालनमा आउन नसकेको जानकारी दिए । बाँकेको गनापुरमा भवन निर्माण भएको वर्षौं बितिसक्दा समेत खुल्ला कारागार सञ्चालनमा आउन सकेको छैन ।
ट्रायलको रुपमा नमूना प्रोजेक्ट लागु गर्ने लक्ष्यका साथ सानातिना मुद्दामा परेका थुनुवालाई राख्ने उद्देश्यले निर्माण गरिएको खुल्ला कारागार सञ्चालन कार्यविधी बन्न नसक्दा सञ्चालनमा आउन नसकेको हो । सरकारी उदासीनताकै कारण करौडौं लगानी गरेर निर्माण गरिएका भौतिक संरचना त्यतिकै थन्किएका छन् ।
टिप्पणीहरू