गुम्बा पुनः निर्माणको रकम हिनामिना गर्ने भुम्लुका अध्यक्षलाई सफाई

गुम्बा पुनः निर्माणको रकम हिनामिना गर्ने भुम्लुका अध्यक्षलाई सफाई

नेपाली समाजमा चर्चित उखान छ, ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा पनि त्यस्तै भएको छ । कीर्ते र ठगीको सबैभन्दा ठूलो योजनाकार भनेर आरोप लगाइएका पालिका अध्यक्ष प्रेमबहादुर भुजेलले सफाई पाउँदा अन्य कर्मचारीहरुमाथि मुद्दा चलाइएको छ ।

वडा नम्बर ५ मुलाबासीमा रहेको होदसल धो ङाग क्षोइलिङ ताम्सालिङ गुम्बा व्यवस्थापन तथा पुनः निर्माण समितिका अध्यक्ष डुक्मा दोर्जे लामा र गाउँपालिका अध्यक्षका स्वकीय तुलसी तामाङ्गलाई कीर्ते अभियोगमा मुद्दा अघि बढाइएको छ । 

पक्राउ परेकालाई प्रहरीले सरकारी वकिल कार्यालयमा पेश गरेको छ । सरकारी वकिल कार्यालयले प्रहरीले तयार पारेको मिसिलबारे जाँचपड्ताल गरेर जिल्ला अदालतमा पेश गर्ने तयारी थालेको बताइएको छ । 

गाउँपालिका अध्यक्ष योजनाकार रहेको भनिएको उक्त आपराधिक कार्यमा उनैलाई चोख्याएर अन्यलाई कारबाही गर्न थालिएपछि स्थानीयले शंका गरेका छन् । गाउँपालिकाले वडा नम्बर २ का वडाध्यक्ष अन्चन मोक्तानको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । 

छानबिन समितिले प्रतिवेदन बुझाइसकेको भनिए पनि हालसम्म सार्वजनिक गरिएको छैन् । अध्यक्ष भुजेलले आफ्नो राजनीतिक पहुँचको आडमा प्रतिवेदन ढाकछोप गरेको स्रोतको दाबी छ । छानबिन समिति संयोजकमा डुक्मा दोर्जे लामा, सचिव अमृतकुमार लामा, कोषाध्यक्ष अनिता गुरुङ, सदस्यहरू मठराम तामाङ, शर्मिला तामाङ, मनमाया तामाङ र भोजबहादुर तामाङ लामा थिए । 

कोषाध्यक्ष अनिता गुरुङ चितवन गएको मौका पारेर गाउँपालिका अध्यक्ष भुजेलले क्षेत्राधिकार बाहिर गएर सिफारिस दिएको प्रतिवेदनमा उल्लेख छ । दर्ता चलानीमा समेत त्रुटि गरी सिफारिसको प्रतिलिपि नराखेर उनले आपराधिक कार्य गरेको छानबिन समितिको ठम्याइ छ । यद्यपि, यो विषयलाई गुपचुप पारिएको बताइन्छ ।

गुम्बाको नाममा राष्ट्रिय वाणिज्य बैंक, धुलिखेल शाखामा अध्यक्ष डुक्मा दोर्जे लामा, सचिव अमृतकुमार लामा र कोषाध्यक्ष अनिता गुरुङको संयुक्त हस्ताक्षर चल्ने गरी १०४०१०००१६०६८००१ खाता नम्बर सञ्चालनमा थियो । अध्यक्ष लामाले सचिवसहित कोषाध्यक्ष गुरुङल र अन्य सदस्यलाई पत्तो नदिई पुनः नयाँ समिति गठन गरेका थिए । सचिव लामालाई हटाएर कोषाध्यक्ष गुरुङलाई सचिव बनाउँदै नयाँ समिति गठन गरिएको हो । 

त्यस्तै, समितिमा नभएका अध्यक्ष भुजेलका स्वकीय सचिव तुलसीमान तामाङलाई कोषाध्यक्ष बनाइएको हो । अन्य सदस्यलाई भने यथावतमा राखिएको थियो । 

गाउँपालिकामा कागजात बुझाई नयाँ खाताका लागि सिफारिस माग भएपछि अध्यक्ष भुजेल आफैंले सिफारिस लेखेर पुनः गठित समितिका अध्यक्ष लामा र तुलसीमान तामाङ्गको संयुक्त हस्ताक्षर चल्ने बनाएर रकम निकालेका हुन् । 

त्योसँगै २०७९ असोज ७ गते बसेको बैठकले बैंकमा रहेको समितिको खाता बन्द गर्ने निर्णय गर्यो । यता, सचिव लामा र कोषाध्यक्ष गुरुङ्गले आफूलाई कुनै पनि बैठकमा उपस्थित नगराएको बताउँदै आएका छन् । पुनः गठित समितिका अध्यक्ष र कोषाध्यक्षको दस्तखतबाट बैंकको कारोबार सञ्चालन गर्न पालिकामा पेश गरिएको सिफारिसलाई २०७९ साउन १९ गते अध्यक्ष भुजेलले स्वीकृत गरेको देखिन आएको छ । 

स्वीकृतिपछि गत साउन २२ गते बैंकबाट पाँच लाख रुपैयाँ निकालेको खुलेको सचिव लामाको भनाइ छ । प्रहरीले स्वीकृत दिने र कीर्तेमा सहयोग पुर्याउने प्रमुख व्यक्तिलाई हालसम्म पनि सोधपुछको निम्ति नबोलाएको उनको दाबी छ । 

भूकम्प पुनः निर्माण प्राधिकरणबाट ७० प्रतिशत र उपभोक्ता समितिबाट ३० प्रतिशत व्यहोर्ने गरी करिब ८० लाखमा गुम्बा पुनः निर्माण गर्ने सहमति भएको बताइएको छ । गुम्बा निर्माण सकिएपछि पाँच लाख रुपैयाँ बचेको देखिन आएको छ । त्यही रकम अध्यक्ष भुजेलसहितको मिलोमतोमा हिनामिना गरिएको हो । अरुलाई कानुनको कठघरामा उभ्याएर उनलाई उन्मुक्ति दिन खोजिएपछि स्थानीयले व्यापक आलोचना गरेका छन् ।

टिप्पणीहरू