संवैधानिक परिषद् बैठक तोकिएको समयभन्दा ४८ घण्टा अगावै

संवैधानिक परिषद् बैठक तोकिएको समयभन्दा ४८ घण्टा अगावै

लामो समयदेखि रोकिएको संवैधानिक परिषद्को बैठक शुक्रबारलाई डाकिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्ति बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित काँग्रेस सभापतिसँग गर्नुभएको छलफलपछि बैठकको मिति तोकिएको थियो । 

राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको रुस भ्रमण निश्चित भएपछि बोलाइएको परिषद् बैठक सम्बन्धमा विभिन्न चर्चा भएको बताइन्छ । प्रधानमन्त्रीलाई भ्रमणबारे थाहा हुँदाहुँदै बोलाइएको बैठक सम्बन्धमा हिजो र अस्ति बालुवाटार र बालकोट निकटस्थहरुको आआफ्नै तर्क सुनिएको थियो । 

एकथरीले एमाले अध्यक्षसँगको सहमतिमा बैठक बोलाइएको भने, केहीले अध्यक्ष मुलुक बाहिर रहने अवस्थामा डाकिएको बैठकपछि प्रधानमन्त्रीको रणनीति सफल हुने अर्थ लगाएका हुन् । सोमबार शीर्ष नेताहरुको छलफलमा बैठक राख्ने सहमति भएपछि शुक्रबार डाकिएको बालुवाटारको भनाइ थियो ।

पर्सिको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष अनुपस्थित हुने निश्चित हुँदाहुँदै बैठक बोलाएपछि एमालेले चर्को असन्तुष्टि राखेको बताइन्छ । बैठकमा कायममुकायम प्रधानन्यायाधीश बस्न नमिल्ने भएपछि उहाँको ठाउँमा कानुनमन्त्री बस्ने व्यवस्थाको निम्ति हिजो साँझ कानुनमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइयो । 

पछिल्लो अवस्थामा परिषद्को बैठकमा सभामुख र विपक्षी दलका नेता एकातिर हुने, उपसभामुख तटस्थ बस्ने सम्भावनासँगै प्रधानमन्त्री र कानुनमन्त्री अर्कातिर हुने अवस्था टड्कारो भएको हो । यस्तो अवस्थामा एमालेको असन्तुष्टिपछि प्रधानमन्त्रीले आज बिहान हतार हतारमा परिषद्को बैठक बोलाउनुभएको हो । 

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना मस्कोतर्फ प्रस्थान गर्नु केही समयअघि सिंहदरबारमा बैठक राख्न बालुवाटार सहमत भएपछि शुक्रबार डाकिएको बैठक ४८ घण्टा अगावै बसेको हो ।

टिप्पणीहरू