जाँच दिन जाने शिक्षकलाई सक्कल प्रमाणपत्र अनिवार्य
शिक्षक सेवा आयोगले परिचय खुल्ने प्रमाणपत्र लिएर मात्र परीक्षार्थीलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको छ ।
आउँदो वैशाख ९ गतेदेखि सञ्चालन हुन लागेको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) मा सहभागी हुने परीक्षार्थीको परिचय खुल्ने प्रमाणपत्र लिएर मात्र प्रवेश दिन आयोगले परीक्षा केन्द्रहरुलाई निर्देशन दिएको हो ।
परीक्षार्थीले सरकारको आधिकारिक निकायबाट जारी भएको परिचय खुल्ने सक्कलै प्रमाणपत्र लिएर परीक्षामा उपस्थित हुनुपर्ने जनाइएको छ ।
नागरिकता, अध्यापन अनुमतिपत्र, सवारी चालक अनुमतिपत्र वा राहदानीमध्ये कुनै एक परिचयपत्र देखाएर मात्र परीक्षामा सामेल हुन दिइने आयोगले स्पष्ट पारेको छ । त्यस्तै, यसपछि सञ्चालन हुने जुनै परीक्षामा पनि सोही व्यवस्था गरिने आयोगको भनाइ छ ।
‘उम्मेदवारले प्रवेशपत्रको साथमा अनिवार्य रुपमा आधिकारिक निकायबाट जारी भएको परिचय खुल्ने सक्कलै प्रमाणपत्र जस्तैः नागरिकता वा अध्यापन अनुमतिपत्र वा सवारी चालक अनुमति पत्र वा राहदानी लिई जानुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ’, जारी सूचनामा भनिएको छ ।
टिप्पणीहरू